६ जेष्ठ २०८१, आईतवार

 

पुल पारीको ‘प्रेम नगरी’

बाग्लुङ नगरपालिका—९ तित्याङको चौतारोमा शिरशिर बतास (हावा) चलिरहेको छ । पीपलको छायाँमा गर्मी छल्न आएकाहरु बसेका छन् । विभीन्न ठाउँमा जाने यात्रीहरुको विश्रामस्थल पनि यही छ ।

सबै आ—आफ्नै ध्याउन्नमा छन् । एक युगल जोडी पनि उही चौतारोमा छ । आसपासका सारा मानिसको प्रवाह बेगर युवक युवतीको काखमा टाउको राखेर बसेको छ । मानौं उनीहरु दुनियाँको प्रवाह बिना जीवनको स्वर्णिम परिकल्पनामा लिप्त छन्, संसार जितेको सपना खुला आँखाले देख्दैछन् ।

घाम लाग्यो कि बाग्लुङ बजारमा उखरमाउलो गर्मी हुन्छ । बढ्दो गर्मीमा फुर्सदिलाहरु प्रायः गर्मी छल्न पुलपारी जाने गर्छन् । २०७० सालमा बाग्लुङ बजार—तित्याङ जोड्नेगरी फड्केडाँमा झोलुङ्गे पुल निर्माण भएपछि डेढ घण्टाको यात्रा पाँच मिनेटमै छोटिएको छ । दुई सय पैंतीस दशमलव पाँच मिटर लामो पुलले स्थानीयलाई त सहज बनाएको छ नै गर्मी छल्न चाहाने र घुमफिरमा दिन कटाउनेहरुलाई पनि राम्रै गन्तव्य भएको छ ।

दैनिक सयौंको संख्यामा मानिसहरु ओहोर दोहोर गर्छन् । पुल तर्नासाथ पुगिने चौतारोमा रहेको पीपलको फेदमा विश्राम लिनेहरुको ठूलै भीड लाग्छ । युगल जोडीहरुका लागि गतिलो गन्तव्य नै बनेको छ । यहाँको युवा जमातले त्यस स्थानलाई आफ्नै नाम दिएका छन् ‘पुलपारीको प्रेम नगरी’ ।

एकान्तको खोजीमा भौतारिने युगलहरु अधिकाँस त्यहाँ पुग्ने गरेको स्थानीय बलबहादुर थापा बताउँछन् । ‘पुल निर्माण भएपछि यहाँको स्थानीयलाई त सजिलो भएको छ नै,’ उनले भने, ‘एकान्तमा अल्लारिन चाहाने युवा युवतीहरुको लागि पनि राम्रै गन्तव्य भएको छ ।’ ‘दैनिक सयौंको संख्यामा युवा युवतीहरु आउने गरेका छन्,’ थापा भन्छन्, ‘गर्मी मौसममा शीतलता प्राप्त गर्ने बहाना बनाएर आउने गरेको देखिन्छ ।’

बाग्लुङ बजारमा एकान्त स्थानको अभावले गर्दा पनि युवायुवतिको आकर्षण पुलपारी हुने गरेको उनको भनाई छ । ‘बजारमा एकान्तमा समय कटाउने ठाउँ छैन, त्यही भएर पनि पुल तरेर यो पाखोमा आउनेहरु धेरै छन्,’ थापाले भने, ‘डाँडोमा चिसो हावा चल्ने भएकाले पनि शीतलता लागि दिउसो आउनेहरु पनि धेरै नै छन् ।’

बिकृती बढ्न थालेकोमा चिन्तित छन् स्थानीय

युवायुवतीको बढ्दो उपस्थीतिसंगै विकृति समेत बढ्न थालेको प्रति धौलागिरी बहुमुखी क्याम्पसका सहप्राध्यापक विष्णु मैत्रेय चिन्तित छन् । ‘पुल बनेपछि सबैलाई सहज त भयो, तर विकृति पनि संगै गाउँ भित्रिन थालेको छ,’ उनले भने, ‘यहाँ आउने युवा युवतीहरुको अश्लील हर्कतले स्थानीय हैरानीमा छन् ।’

फड्केडाँडा पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएकाले यहाँ हुने गलत क्रियाकलाप रोक्न प्रहरीले सक्रियता बढाउनुपर्ने मैत्रेयको कथन छ । ‘यो जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुलको रुपमा रहेको छ, बाग्लुङ बजारमा आउनेहरु अधिकांस यसको अवलोकन गर्नका लागि आईपुग्छन्,’ मैत्रेय भन्छन्, ‘यहाँ हुने नराम्रा गतिविधिले जिल्लाकै छविमा नकरात्मक प्रभाव पार्छ ।

यसलाई रोक्न प्रहरीले सक्रियता देखाउनुपर्छ ।’ ‘प्रहरी आउन त आउँछन् घुम्ने मनसायले आउँछन्, निगरानी गर्न आउँदैन,’ उनले भने । कहिलेकाँही आफन्तहरु संगै हिँड्दा पनि लज्जाबोध हुने गरी युवायुवतीहरुले हर्कत गर्ने गरेको उनी बताउँछन् ।

‘साँझ पर्न थालेपछि काममा गएकाहरु सबै घर फर्कने बेला हुन्छ, यहाँ जम्मा हुने युवायुवतीहरुको क्रियाकलापले कहिलेकाँही त लाजै हुन्छ,’ उनले भने,  ‘महिलाहरु पस्र्यौला उठाउन जाँदा छरपस्ट कण्डम भेटियो भन्ने गुनासो गर्छन् ।’ फड्केडाँडामा पुल निर्माण भएपछि जिल्लामा भित्रिने बाह्य तथा आन्तरिक पर्यटकहरु प्रायः पुग्ने गरेका छन् ।

पुलले तित्याङ, भकुण्डेका स्थानीयलाई जिल्ला सदरमुकाम आउन सहज बनाएको छ । अहिले त्यस क्षेत्रबाट दैनिक सयौं विद्यार्थीहरु अध्ययनका लागि बिहान बागलुङ बजार आएर साँझ फर्कने गरेका छन् । पुल निर्माण भएपछि त्यस वरिपरिका स्थानीयको व्यापारमा समेत वृद्धि भएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्