१९ बैशाख २०८१, बुधबार

 

कालीगण्डकी करिडोरका होटल व्यवसायीलाई पर्यटकमैत्री सेवा प्रवाह तालिम

गैडाकोट । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले होटल व्यवसायी र मजुदरहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन सुरु गरेको छ ।

यस सम्बन्धी तालिम पहिलो चरणमा कालिगण्डकी करिडोर अन्तर्गतका होटल क्षेत्रका जनशक्तिका लागि आयोजना गरिएको हो । त्यसैगरी मस्र्याङदी करिडोरका व्यवसायीलाई समेत तालिमको योजना रहेको छ ।

होटल व्यवसायी महासंघ गण्डकीले आज नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन आयोजना गरी यही चैत २४ र २५ गते कालीगण्डकी करिडोरका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छता र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन लागिएको जनाएको छ ।

महासंघका अध्यक्ष अर्जुन चोखालका अनुसार तालिममा करिडोर अन्तर्गत गैँडाकोट, बुलिङटार, बौदीकालीका गाउँपालिका लगायत नवलपुर जिल्लाभरिका होटल तथा पर्यटन व्यवसायीहरु र कामदारहरु समेत गरी ७० जनाको सहभागिता रहनेछ ।

“होटल तथा पर्यटन व्यवसायलाई मर्यादित बनाउने, व्यवसायको स्तरोन्नति गर्ने, विभिन्न तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरी सेवा व्यवसायलाई गुणस्तरीय बनाउन कार्यक्रमबाट सहयोग पुग्नेछ ।” अध्यक्ष चोखालले भन्नुभयो ।

पोखरा गण्डकी प्रदेशको राजधानी सहर घोषणा भइसकेको सन्दर्भमा पर्यटन क्षेत्रलाई थप पर्यटकमैत्री बनाउने र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई खाद्य स्वच्छताका बारेमा जानकारी गराउन कार्यक्रम महत्वपूर्ण हुने बताइन्छ ।

छिमेकी मुलुक चीनसँगको उत्तरी नाका कोरलादेखि दक्षिणी छिमेकी मुलुक भारतको सुस्ता त्रिवेणीसम्म जोडिएको कालीगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको र विशेष गरी धार्मिक पर्यटनका लागि महत्वपूर्ण रहेको छ ।

यस क्षेत्रको गुणस्तरीय पर्यटन विकासबाट मात्र ठूलो मात्रामा रोजगारी सिर्जना हुने तथा देशको मजवुत अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएकाले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर्मचारीको सिप र दक्षता अभिवृद्धिलाई प्राथमिकता दिइएको अध्यक्ष चोखालले बताउनुभयो ।

सहभागीहरुलाई खाद्य स्वच्छता, सरसफाई र पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारी बीचको सम्बन्ध, व्यवसायको प्रचारप्रसार र प्रवद्र्धन, स्थानीय उत्पादनको व्यावसायिकरण लगायतका विषयहरुमा सिकाइने महासंघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिनुभयो ।

तालिमका प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी तथा प्रशिक्षकहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत कुन्दन मिश्र लगायतका विषय विज्ञहरु रहनुभएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन पोखरेलले कालीगण्डकी र मस्र्याङदी करिडोरमा रहेका साना तथा मझौला व्यवसायी तथा कामदारहरुलाई समेत स्वच्छता र पर्यटकमैत्री व्यवहारका बारेमा सिकाउनु महत्वपूर्ण रहेकाले तालिम आयोजना गरिएको बताउनुभयो ।

पर्यटनको राजधानी पोखरा, बेगनास तथा काठमाडौँम रहेका ठूला र स्तरीय होटलमा दिइएको सुविधा राम्रो रहेपनि अन्यत्र रहेका पर्यटकीय गन्तव्यहरुमा समेत राम्रो र पर्यटकमैत्री व्यवहार आवश्यक रहेको पोखरेलको भनाई छ ।

उहाँले भन्नुभयो,“पर्यटन क्षेत्रमा हस्पिटालिटीको धेरै महत्व रहेको हुन्छ । गाउँ ठाउँ तथा स्थानीय स्तरमा पनि पर्यटकमैत्री व्यवहार हुन नसके नेपालको बारेमा राम्रो सन्देश जाँदैन ।

त्यसैले व्यवसायी र कामदारलाई तालिम दिएर सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने पर्यटन बोर्डको दायित्व हो । ” बोर्डले यस्ता खालका तालिमहरु कालीगण्डकी करिडोरको नवलपुर र म्याग्दी तथा मस्र्याङदी करिडोरको दमौली र मनाङमा गर्न लागिएको जनाएको छ ।

हिमाली आवाजबाट

प्रतिक्रिया दिनुहोस्