१७ बैशाख २०८१, सोमबार

 

चैत्र दशैं मेलाको उद्घाटन अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नु हुने

बागलुङ । कालिका भगवती गुठीले आयोजना गरेको चैत्र दशैँ मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नु हुने भएको छ ।

मंगलबार अध्यक्ष ढकालले उद्घाटन गर्ने कार्यक्रम तय भएको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

ऐतिहासिक चैते दशैं मेला चैत ३० गतेदेखि बागलुङ नगरपालिका- १ बाल उद्यान, रामरेखामा सञ्चालन भइरहेको छ ।

मेला बैशाख ६ गतेसम्म हुँदैछ । ‘गन्तव्य बागलुङ कालिका कला र संस्कृतिको प्रवर्द्धन स्थानीय उत्पादन व्यापार र पर्यटन प्रवर्द्धन‘ भन्ने मूल नारासाथ मेला आयोजना गरिएको छ । मेलाको मुख्य प्रायोजक प्रभु बैंक र सहप्रायोजकमा ग्लोबल आइएमई बैंक र टुर्वग वियर रहेको छ ।

मेलाको मुख्य आकर्षणको रुपमा रहेको तीन लाख राशिको कालिका कप खुला भलिबल प्रतियोगिता भइरहेको छ । दुई लाख राशिको राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता जारी छ ।

एघार हजार राशिको छेलो प्रतियोगिता र रमाइलो मेला पनि रहेको छ । नवमीको दिन रथ यात्रा समेत रहेको आयोजकले जनाएको छ ।

मुलुककै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङको कालिका भगवती मन्दिरमा सो अवधिमा पाँच लाखभन्दा बढी भक्तजन पूजा गर्न आउने अनुमान गरिएको छ ।मेलामा ५५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्