२ जेष्ठ २०८२, शुक्रबार

 

फेरीपनि बनेन उत्तरगंगामा विव्यस, १ दशकमा आधा समिति विहिन विद्यालय, यस्तो छ भित्र कथा

ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको उत्तरगंगा माविमा विद्यालय व्यवस्थापन समिति गठन बारे सहमती खोज्न बोलाईएको सर्वदलिय बैठक विना निष्कर्श सकिएको छ ।

उत्तरगंगामा समिति गठनका लागि बोलाईने पटक पटकको अभिभावक भेला यस्तै समिति नबनाई टुङ्गीने गरेका छन् । गत माघमा चुडाबहादुर कुँवरको अध्यक्षतामा बनाईएको समितिलाई प्रक्रिया नपुगेको भन्दै जिल्ला शिक्षा कार्यालयले मन्यता नदिएपछि विद्यालय समिति विहिन रहँदै आएको छ ।

२०७३ जेठमा तत्कालिन अध्यक्ष टेकपति सापकोटाको अध्यक्षतामा रहेको समितिको कार्यकाल पुरा भएपछि अहिलेसम्म नयाँ समिति बन्न सकेको छैन । समिति गठनदेखि अन्य गतिविधिमा समेत राजनीतिकारण हुने गरेको विद्यालयमा काँग्रस र जनमोर्चा पक्षका अभिभावक मिलेर कुँवरको अध्यक्षतामा विव्यस गठन गरेका थिए ।

एमाले, माओवादी केन्द्र, तत्कालिन नेकपा माओवादी र क्रान्तिकारी माओवादी पक्षका अभिभावकले आफ्नो सहमती विपरित एकलौटी समिति बनाईएको भन्दै मान्यता नदिन जिशिकामा निवेदन दिएका थिए ।

जिशिकाले समितिको गठन प्रक्रिया पुरा नगरी समिति बनाईएकाले मान्यता दिन नसकिने भन्दै निवेदक पक्षको माग सदर गरेको थियो ।

शिक्षा कार्यालयले फेरी नयाँ प्रक्रियाको सुरुवात गरेर विधिअनुसार समिति बनाउन विद्यालयलाई निर्देशन दिएको थियो ।

नगरप्रमुख नेपालीको निर्देशनपछि सर्वदलिय बैठक
समिति विहिन अवस्थामा रहेको विद्यालयप्रति चासो व्यक्त गर्दै ढोरपाटन नगरपाािलका प्रमुख देबकुमार नेपालीले भदौ ११ गते स्रोतव्यक्ति, प्रअ तथा शिक्षकलाई नगर कार्यालयमै बोलाएर तत्काल सहमती खोजेर नयाँ समिति बनाउन निर्देशन दिएका थिए ।

त्यसको भोलीपल्ट वडा अध्यक्ष, श्रोतव्यक्ति, प्रअ तथा शिक्षक कर्मचारीको बैठकले समस्या समाधनको पहल गर्न तीन जनालाई जिम्मेवारी दिएको थियो । वडा नम्बर–१ का अध्यक्ष चित्रबहादुर भण्डारी, स्रोतव्यक्ति हरिचन पाण्डे र प्रअ धनबहादुर कुवरले राजनीतिक सहमती खोज्नको लागि शानिबार सर्वदलिय बैठक बोलाएका थिए ।

बैठकमा कुनै राजनीतिक सहमती नभएको प्रधानाध्यापक धनबहादुर कुँवरले जानकारी दिए । वडा अध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षतामा  वैठक भएको थियो ।

बैठकमा स्रोतव्यक्ति हरीचन पाण्डे, काँग्रेसका सोमबहादुर पौवि ‘यामु’, एमालेका ज्ञानप्रसाद कँडेल, माओवादी केन्द्रका चन्द्र अर्याल, जनमोर्चाका धनबहादुर खत्री, क्रान्तिकारी माओवादीका गुञ्जबहादुर भण्डारी, कम्युनिष्ट पार्टीका हरी कुँवरको उपस्थिती थियो ।

बैठकमा कस्ले के भने ?
बैठकमा शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका जनमोर्चा प्रतिनिधि धनबहादुर खत्रीले गत माघमै बनेको समितिलाई मान्यता दिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

‘उहाँले चुडाबहादुर कुँवरजीकै समितिलाई मन्यता दिएर जाउँ, अभिभावकले निर्वाचनबाटै बनाएको समिति हो, भन्नुभएको थियो’ खत्रीको भनाई उदृत गर्दै एक सहभागीले भने, ‘हामी (राजमो काँग्रेस) ले बनाएको अध्यक्ष (समिति) लाई नमानेपछि हामीले पनि तपाईहरुलाई मान्नुपर्छ भन्ने के छ ? भन्ने उहाँको धारणा थियो ।’ १२ सय अभिभावक रहेको विद्यालयमा माघमा चुनाब गरेर चुडाबहादुर कुँवरको अध्यक्षतामा समिति बनाउँदा ४१ मत मात्र खसेको थियो ।

काँग्रसका सोमबहादुर पौवि ‘यामु’ ले सहमती भए चुडाबहादुरकै समितिलाई मान्यता दिन सकिने भन्दै नभए नयाँ समिति बनाएर अघि बढौँ भनेका थिए ।

अरु पार्टीका प्रतिनिधिले जिल्ला शिक्षा कार्यालयले नै मान्यता नदिएको समितिलाई हामीले मानेर कसरी हुन्छ ? भन्ने प्रश्न गरेका थिए ।
सहमती नभएपछि फेरी अर्को पटक छलफल गर्ने गरि बैठक सकिएको हो । बैठकमा सहमतीका लागि विभिन्न विकल्पमा रहेर छलफल समेत भएको सहभागीले बताएका छन् ।

सवैलाई स्विकार्य सामाजिक छवि भएको पात्रलाई अध्यक्ष बनाएर जाने विषयमा पनि कुरा भएको बताईएको छ । कुनै निकास ननिस्के वडा अध्यक्ष चित्रबहादुर भण्डारीलाई नै अध्यक्ष बनाएर जान सकिने कुरा पनि उठेको छ ।

समिति नहुँदा नियमित काम समेत प्रभावित
समिति नवन्दा विद्यालयका नियमित काम, शैक्षिक गतिविधि र पुर्वाधार सुधारको काम समेत प्रभावित भएको प्रअ कुँवरले बताए । ‘यसअघि निर्वाचन प्रक्रियाबाटै बनाएको समितिलाई शिजिकाले मान्यता दिएन,’ कुँवरले भने, ‘अभिभावकको चासो समेत विद्यालयप्रति काम हुँदै गएको छ, समिति नहुँदा विद्यालयका नियमित गतिविधि समेत प्रभावित छन् ।’
उनले समिति विहिन अवस्थामा विद्यालय चलाउन मुस्किल भएको भन्दै तत्काल समाधान खोज्न सवैपक्षले चासो दिनुपर्ने बताए ।

अतिराजनीतिकरणले विद्यालय संकटमा
विद्यालयमा अधिकांश विषयमा विवाद् हुने र यसले राजनीतिक स्तरमै टकराब सिर्जना गर्न थालेपछि शैक्षिक गुणस्तर खस्कीँदै गएको छ । अभिभावक, विद्यार्थी तथा सरोकार भएका पक्षको समेत विद्यालयप्रति क्रियाशिलता र चासो काम हुँदै गएपछि पश्चिम बागलुङकै अगुवा विद्यालय संकटमा पर्न थालेको छ ।

विद्यालयसँग जोडिएका विभिन्न पक्ष र व्यक्तिको स्वार्थ बाझिने र उनीहरु विच हरेक कुरामा अति राजनीतिकरण हुँदा अवस्था विग्रँदै गएको हो ।

सर्बोच्चले टुङ्ग्याएको प्रअ विवाद् समिति गठनमा पनि बल्झिँदै
यसअघि विद्यालयमा भएको प्रअ विवाद्को मुद्धा सर्बोच्चसम्म पुगेर टुङ्गिएको थियो । बर्तमान प्रअ धनबहादुर कुँवर र पुर्वप्रअ ईश्वरीप्रसाद पौडेल विचको विवादमा सर्बोच्चले धनबहादुर कुँवरको पक्षमा फैसला गरेको थियो ।

प्रअ कुँवर उमेरहदका कारण आगमी मंसिरमा पदमुक्त हुँदैछन् । त्यसपछि प्रअ फेरी को बन्ने भन्नेमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने अधिकार हुने हुँदा आफ्नो पक्षको समिति बनाउन दुवै पक्षले रस्साकस्सी गर्ने गरेको जानकारहरु बताउँछन् ।

यसअघिपनि विद्यालय समिति बिहिन भएको ईतिहास

आन्तरिक विवाद्ले विगतमा पनि लामो समयसम्म विद्यालय समिति विहिन रहेको ईतिहास छ, उत्तरगंगा माविमा । २०५८ सालदेखि ६४ सम्म तुल्सीराम अर्याल अध्यक्ष रहेका थिए । त्यसपछि झण्डै ३ बर्ष विद्यालय समिति विहिन नै थियो ।

६६ साल माघ २० मा ददिराम शर्माको अध्यक्षतामा समिति बनेको थियो । शर्माको समितिले धनबहादुर कुँवरलाई हटाएर ईश्वरीप्रसाद पौडेललाई प्रअ बनाएपछि विवादको विजारोपण भयो । शर्माको कार्यकाल ६९ माघ २० मा सकियो । त्यसपछि झण्डै चार महिना समिति बन्न सकेन ।

७० साल जेठ २८ गते टेकपती सापकोटाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति बनेको थियो । यो समितिको पदावधि ७३ साल जेठ २८ गते सकिएपछि अहिलेसम्म समिति बन्न नसकोको हो ।

समस्या समाधानमा सवैको ध्यान पुगोस
विद्यालयमा एक दशक भन्दा लामो विवाद् समाधानमा विद्यालय प्रसाशन, अभिभावक, स्थानीय सरकार, जनप्रतिनिधि, जिल्ला शिक्षा कार्यालय, राजनीतिक दल समेत गम्भिर भएर समाधान खोज्न लाग्नुपर्ने देखिन्छ । यसको अलावा समस्या समाधानको लागि आवश्यक पर्दा जिल्ला प्रशासन कार्यालयको पनि हस्तक्षपकारी भुमिका चाहिने देखिन्छ ।

स्थानीय सरकार बनेपछि यो दायित्व ढोरपाटन नगरपालिकामा आएको छ । नरप्रमुख देवबुकार नेपालीले विव्यस गठन र विद्यालय सुधारका लागि देखाएको चासो सकारात्मक छ ।

यसलाई दिगो समाधन हुने गरि सवैलाई चित्त बुझाएर सहमती खोज्ने कुरामा नगरपालिकाले निर्णयक भुमिका खेल्नु आवश्यक छ । अन्यथा अवस्था अझै यस्तै रहे विद्यालय थप संकटमा फस्दै जाने निष्चित छ । यसतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण हुन जरुरी छ ।

समाचारमा प्रयोग भएका सवै फाईल तस्विर हुन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung