२९ बैशाख २०८१, शनिबार

 

माग अनुसार सुनको आपुर्ती नहुँदा समस्या छ : सुदेशचन्द्र राजभण्डारी

सुदेशचन्द्र राजभण्डारी जो सुनचाँदी व्यवसायी बागलुङका पुर्व अध्यक्ष हुन् । उनले विसं २०५४ सालदेखि बागलुङ बजारको राजभण्डारी रोडमा महालक्ष्मी सुनचाँदी पसल गर्दै आएका छन् । वुवाले गरेको पेशालाई उनले पनि निरन्तरता दिएका छन् । प्रश्तुत छ, उनीसँग नयाँविश्वले गरेको कुराकानी :

१. तपाईले सुनचाँदी व्यवसाय कहिलेदेखि थाल्नुभएको हो ?
सुनचाँदीको पेशा मेरो वुवाले सुरु गर्नुभएको हो । झण्डै ५० बर्षपहिले वुवा लालबहादुर राजभण्डारीले सुरु गर्नुभएको यो पेसा मैले ५४ सालदेखि गरिरहेको छु । वुवासँगै मेरो दाई रामचन्द्र राजभण्डारीले पनि यहि सुनकै व्यापार गर्नुभएको हो । अहिले दाई र मैले छुट्ट छुट्टै पसलबाट सुनचाँदीकै व्यापार गरिरहेका छौँ । मैले सुरु गरेको पनि २० बर्ष भईसक्यो ।

२. तपाईले अरु पेशा व्यवसाय पनि गर्नसक्नुहुन्थ्यो होला, यहि पेशा किन अँगाल्नुभयो ?
हो मैले अरु पेशा व्यवसाय पनि गर्न सक्थेँ । तर म अन्त लागिन । वुवाले सुरु गरेको पेशा भएकाले मलाई पनि यहि क्षेत्रमा छोराले राम्रो गरोस भन्ने वुवाको चाहना हुनु स्वभाविक हो । छोराहरुले आफैले थालेको पेशामा राम्रो गरुन् भन्ने वुवाको जोड दियो । त्यसैले पनि मैले यो पेसा नै रोजेँ । अर्को कुरा घरका सदस्यले २०–२५ बर्षदेखि गर्दै आएको पेशा भएकाले मलाई केही अनुभव र ज्ञान समेत थियो ।

यसकारण मलाई यो व्यवसाय गर्न सजिलो पनि भयो । आफ्नो जीवन चलाउन, परिवार पाल्न पनि केहि न केहि पेशा व्यवसाय त गर्ने पथ्र्यो । त्यसैले मैले सुनचाँदी गहना पसल थालेँ । अहिले पनि यसैलाई निरन्तरता दिएको छु ।

३. सुनचाँदी व्यवसायी समिति बागलुङको पूर्वअध्यक्ष पनि हुनुहुन्छ, संस्थामा रहेर काम गर्दाको अनुभव के छ ?
सुनचाँदी व्यवसायी समिति भनेको व्यवसायी साथीहरुको साझा संस्था हो । यसको नेतृत्वमा रहेर काम गर्दा व्यवसायका समस्या, साथीहरुलाई परेको अप्ठ्योरो बारे थाहा पाउने अवसर मिल्यो ।

त्यस्ता समस्या कसरी समाधान गर्ने, अप्ठ्यारो कसरी फुकाउने भन्ने प्रयास निरन्तर गरिरहेँ । मैले सक्दो सहयोग व्यवसायी साथीहरुलाई गरेँ । संगठनलाई सवैको साझा संस्थाको रुपमा अघि बढाउन प्रयास गरेँ ।

यसमा सवै व्यवसायी साथीको अपनत्व र स्वामित्व हुनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यसलाई व्यवहारमा उतार्ने र सवैलाई अनुभुति गराउने प्रयास गरेँ । संस्थाको काम र व्यवसायी साथीहरुका समस्या अप्ठ्यारामा राज्यका निकाय प्रहरी, प्रशासनसँग समन्वय गरेर समाधान गर्ने प्रयास गरेँ । यहि त हो ।

संस्थामा रहेर काम गर्दा आफ्नो मात्र नभएर अरु व्यवासयी साथीहरुका समस्या बारे पनि जानकार भईयो । समाधान र सुधारका लागि सक्दो प्रयास गरियो ।

४ सुनचाँदीको व्यवसायमा तपाईले सुरु गर्दा (२० बर्ष पहिले) र अहिलेमा के फरक छ ?
पहिले कुरा त त्यति बेला ग्राहक पनि कम हुन्थे । पेशा व्यवसाय गर्ने साथीहरु पनि कम नै थिए । अहिले यो पेशा गर्नेको संख्या बढेको छ । त्यसैले गहनाको माग एकतिर बढेको छ भने अर्कोतिर प्रतिस्पर्धापनि बढेको छ ।

धेरै व्यवसायी भएपछि बजारमा प्रतिस्पर्धा हुनु स्वभाविक पनि हो । अर्को कुरा मैले सुरु गर्नु अघि गहना तयार गरेर स्वरुममा राख्ने, सजाएर ग्राहकलाई देखाउने चलन थिएन । त्यतिवेला माग अनुसार गहना बनाईन्थ्यो र सिधै ग्राहकलाई विक्री गरिन्थ्यो । अहिले जस्तो पहिल्यै तयार गरेर सो गरेर स्वरुममा राख्ने चलन थिएन ।

मैले २०५४ सालमा यो पेशा सुरु गरेको हुँ । त्यसपछि स्वरुममा राख्ने चलन सुरु भयो । मैले पनि आफुले पसल हेर्न थाले लगत्तै स्वरुम राखेँ । अनि त्यो बेला अहिले जस्तो सुन ल्याउन प्रतिबन्ध थिएन । विदेशबाट आउने लाहुरे र अरुले पनि काँचो सुन ल्याउन पाउँथे । सुनको अभाव हुन्थेन । अहिले सरकारले रोक लगायो । तोकिएको बैङ्कबाट मात्र ल्याउनुपर्छ ।

माग अनुसार बैंकले पु¥याउन सक्दैन । अनि झन् तस्कारी बढेको छ । अहिले बजारमा माग भए अनुसार राज्यले सुन पु¥याउन सकेको छैन । हामीले पनि माग अनुसार किन्न र बेच्न समेत पाएको छैनौँ ।

५. कमाई कस्तो छ अहिले ?
कमाई ठिकै छ । यहि पेशाले घर खर्च चलेको छ । खट्नुपर्छ, निरन्तर लाग्नुपर्छ । कमाई त राम्रै हुन्छ । पछिल्लो समय माग पुराउन सकिएको छैन । मैले माथि पनि भने, हामीले चाहिएजति सुन पाउने अवस्था छैन ।

६. कालिगड कति जना छन ? तलब कसरी दिने गर्नुभएको छ ?
मसँग अहिले ६ जना कालिगड नियमित छन् । उनीहरुले पसलमै वसेर गहना बनाउने काम गर्छन् । अरु दुई जनाले बाहिरबाट गहना तयार गरेर पठाउने गर्छन् ।

उनीहरुसँग ८ जना हुन्छन् । उनीहरुलाई तयारी गहनाको मुल्यको आधारमा ८ देखि १० प्रतिशत ज्याला दिने गरिएको छ । यो भनेको जस्तो एक तोला सुनको गहना तयार गरेको कालिगडले एक तोला सुनको मुल्यको ८ देखि १० प्रतिशत ज्याला पाउँछन् ।

७. यो व्यवसायमा कस्ता चुनौती छन् ?
खास चुनौती त हरेक पेशा व्यवसायमा हुन्छन् । यो पेशामा पनि चुनौती हुनुस्वभाविक भयो । अहिले त ग्रहकले खोजेको समयमा सुन उपलब्ध गराउन सक्नु नै समस्या भएको छ । किनभने पर्याप्त सुन पाईदैन । राज्यले चाह्यो भने दिन सक्छ । तर त्यो गरेको छैन । कारोवार बढी भए हामीले पनि राज्यलाई धेरै कर तिर्छौं ।

त्यो सरकारलाई आम्दानी नै हुने हो । त्यसैले आवश्यकता अनुसारको सुन आपुर्ती नै अहिले मुख्य चुनौती छ । यसमा राज्यले पनि सोच्नुपर्छ । अरु त पेशाका विभिन्न चुनौती हुन्छन् नै । व्यवसाय भनेकै जोखिम मोल्नुपर्ने क्षेत्र हो । सुनचाँदी व्यवसायमा झन् धेरै जोखिम छ । उदारो जाने समस्या पनि छ । यो पनि हाम्रा लागि चुनौती नै हो ।

८. बागलुङमा दैनिक वा मासिक कति छ सुनको माग ?
यहाँ दिनमा सिजनको बेला ३५ देखि ४० तोला माग छ । म विक्रि हुँदा पनि १५ देखि २० तोला चाहिन्छ । तर जहिले पनि आपुर्ती त्यसको आधा मात्र हुन्छ । यो मैले सरदर भनेको हुँ ।

जिल्लाको यो तथ्यांक भन्दा केहि फरक होला तर पुर्ती त्यहि ५० प्रतिशत मात्र हुन्छ । देशभर दिनमा सरदर ४० किलो माग छ । तर २० किलो भन्दा काम आपुर्ती हुन्छ नेपाल भर ।

९. यो पेशा गर्न ईच्छुकहरुलाई के भन्नुहुन्छ ?
य त्यो त जुनसुकै पेशा गर्दा पनि आफ्नो रुचिको कुरा हुन्छ । अनि आफुले यसको बजारलाई राम्ररी अध्ययन गरेर लगानी गर्नुपर्छ । जुनसुकै पेशा व्यवसायमा ग्राहक नै हाम्रा पुँजी हुन् । ग्रहकलाई रिझाएर काम गर्न सक्नुपर्छ । यो पेशामा जोखिम धेरै हुन्छ । जोखिम मोलेर काम गर्ने क्षमता हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्