३ श्रावण २०८३, आईतवार

 

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहकारी माध्यम उपयुक्त : ढुंगाना

धौलागिरिवासी जनतालाई प्रभावकारी स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ सञ्चालित धौलागिरी सञ्जिवनी स्वास्थ्य सहकारी संस्था  लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्य सह्रानीय भएको बताएका थिए ।

धेरै सदस्यहरुको सहभागितामा थोरै थोरै रकम जम्मा गरी अस्पताल सञ्चालन गर्नु चुनौतिपूर्ण भए पनि सामुहिक एकता र सहकार्यको भावनाबाट अघि बढे लक्ष्य प्राप्त गर्न सकिने उनीहरुको भनाई थियो ।   साधारणसभाको उद्घाटन पछि बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले आम जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनका लागि सहकारी उपयुक्त माध्यम हुने बताए ।

 सहकारीहरुले धेरै जनतालाई प्रत्यक्ष सहभागी गराएर सेवा प्रदान गर्ने भएकाले राज्यको स्वास्थ्य सेवा आम जनताका बीचमा पु¥याउनका लागि सहकारीलाई विकल्पका रुपमा अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।   उनले सहकारी मार्फत अस्पताल सञ्चालन गरेर धौलागिरीको स्वास्थ्य क्षेत्रमा खेलेको भुमिका अनुकरणीय रहेको बताए ।

धौलागिरी सञ्जिवनी स्वास्थ्य सहकारीले बागलुङमा निलगिरी सहकारी अस्पताल र म्याग्दीको बेनी बजारमा म्याग्दी सञ्जिवनी अस्पताल सञ्चालन गर्दै आएको छ । यो क्षेत्रमा सहकारी मार्फत सञ्चालित अस्पतालमास्त्री तथा प्रसुती लगायतका विशेषज्ञ सेवा प्रदान गरिदै आएको संस्थाले जनाएको छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, जिल्ला सहकारी सघं बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, बहुउद्देश्यीय सहकारी सघं बागलुङका अध्यक्ष अञ्जु जिसी, म्याग्दी सञ्जिवनी अस्पताल व्यवस्थापन उपसमितिका संयोजक शिवकुमार श्रेष्ठ, निलगिरि सहकारी अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द जोशी गौतम लगायतले मन्तव्य व्यक्त गरेका थियो ।

साधारणसभामा स्थानीय तह निर्वाचनबाट निर्वाचित संस्थाका शेयर सदस्य जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।  कार्यक्रम सहकारी संस्थाका अध्यक्ष राम शर्माको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर कार्कीको स्वागत र सचिव रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव जिसीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष इश्वरलाल राजभण्डारीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक दिपकजंग राजभण्डारीले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

सञ्जिवनी स्वास्थ्य सहकारीको अध्यक्षमा कार्की  

धौलागिरि अञ्चलमा नै पहिलो पटक सहकारी मार्फत अस्पताल सञ्चालन गर्ने धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति सर्वसम्मत अध्यक्षमा चयन भएको छ । सञ्चालक समितिको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा रामबहादुर जिसी, सहसचिवमा प्रकाश शर्मा, कोषाध्यक्षमा इश्वरलाल राजभण्डारी चयन भएका छन ।

समितिका सदस्यहरुमा चन्द्रबहादुर क्षेत्री, सोमबहादुर जिसी, थानेश्वर सुवेदी, अमृता भण्डारी, सुवासकुमार श्रेष्ठ, शिवप्रसाद कटुवाल क्षेत्री, सरस्वती खड्का परियार र किरण थापा चयन भएका छन । साधारणसभाले हरिप्रसाद शर्मा संयोजक तथा हिराबहादुर केसी र हिललाल आचार्य सदस्य रहेको लेखा समिति चयन गरेको निर्वाचन समितिका संयोजक हरिकृष्ण सुवेदीले जानकारी दिए ।

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष कार्कीले सहकारी र स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सबै क्षेत्रसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  निवर्तमान अध्यक्ष राम शर्माले बधाई तथा शुभकामना व्यक्त गर्दै सहकारी मोडेलको उत्कृष्ट अस्पताल सञ्चालनका लागि सक्रिय रहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung