३ श्रावण २०८३, आईतवार

 

स्वाभिमान बहुउद्देश्यीय सहकारीको आठौ वार्षिक साधारणसभा सम्पन्न  

साढे दुइ दशक सम्म सहकारी अभियानमा लागेर सहकारी क्षेत्रको प्रबद्र्धनमा योगदान गरेको भन्दै बागलुङको स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीकर्मी रामबहादुर जिसीलाई शनिबार सम्मान गरेको हो ।   संस्थाको आठौ वार्षिक साधारणसभाको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीलाई संस्थाका तर्फबाट दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

  २०५० सालमा जिल्ला सहकारी संघ बागलुङको कर्मचारीका रुपमा सहकारी अभियानमा लागेर निरन्तर रुपमा सहकारी क्षेत्रको विकास, विस्तार र जनतालाई सहकारीप्रति आकर्षित गर्ने काममा लागेर योगदान गरेकोले सम्मान गरिएको संस्थाका सचिव सूर्यबहादुर महतले जानकारी दिए ।  स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था स्थापनादेखि हालसम्मको अवस्थामा आउनका लागि समेत जिसीले निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएको उनले बताए ।

साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका जिसीले सहकारी व्यवसायको महत्व र यसले देशको दीर्घकालिन विकासमा पर्ने प्रभावका बारे अझै धेरैलाई जानकारी आवश्यक रहेको बताए ।   सही अर्थमा सहकार्य गर्ने परम्परा अझै विकास नभएको भन्दै जिसीले प्रत्येक सहकारीहरुले सहकारीको मूल्य, मान्यता, आदर्श र सिद्धान्तलाई आत्मसाथ गरी सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसी, क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्की, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य, संस्थाका सल्लाहकारहरु रुद्रबहादुर महत र दिपेन्द्र बास्कोटा, लहरेपीपल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर केसी, नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बलबहादुर खड्का, शेयर सदस्यहरु हुमादेवी खड्का र हिराबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गेका थिए ।

उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष भीमबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष शिवकला थापाको स्वागत र सचिव सूर्यबहादुर महतको सञ्चालनमा सम्पन्न भएको थियो ।   साधारणसभामा सचिव महतले प्रगति प्रतिवेदन, व्यवस्थापक महेन्द्रसिंह रायमाझीले आर्थिक प्रतिवेदन  प्रस्तुत गरेका थिए ।   ३ सय ९३ जना शेयर सदस्य रहेको संस्थामा ९५ लाख ५५ हजार शेयर रकम, २ करोड ४० लाख वचत, २ करोड ५० लाख लगानी रहेको व्यवस्थापक रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung