
पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ सहकारी खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोवार नगरी निष्कृय रहेका सहकारी संस्था खारेज गरिएको डिभिजन सहकारी कार्यालय बागलुङले जनाएको छ ।
सहकारी ऐन २०४८ मा कारोवार नगर्ने, वित्तिय विवरण डिभिजन कार्यालयमा नबुझाउने, लेखा परिक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ । बागलुङपछि सबै भन्दा धेरै पवर्तका २० सहकारी खारेज भएका छन् । म्याग्दीका सात र मुस्ताङमा एउटा मात्र सहकारी खारेज भएको छ । न्युनतम दुई वर्षदेखि बढी सयम निष्कृय रहेका सहकारी संस्था खारेजीको प्रकृयामा जाने कार्यालय प्रमुख बिष्णुप्रसाद शर्माले बताए ।
‘दुई वर्षसम्म पनि कारोवार नगर्ने, विवरण नपठाउने सहकारीको बारेमा सूचना प्रकाशन हुन्छ, संस्थालाई पत्र पनि पठाउँछौं’ उनले भने, ‘सूचना प्रकाशनपछि विवरण पठाउने, कारोवार सुचारु गर्ने सहकारी खोरज हुँदैनन्, नपठाउने खारेजीमा पर्छन् ।’ खारेज भएका सहकारीमा अधिकांश ४/५ वर्षदेखि निष्कृय अवस्थामा रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०६२/०६३ देखि २०७३/०७४ सम्मको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०६५/०६६ मा ७ वटा सहकारी खारेज भएका छन् ।
डिभिजन सहकारी कार्यालयको आँकडा अनुसार वर्षेनी ५/७ वटा सहकारी संस्था खारेज हुने गरेका छन् । पछिल्लो एक दशकमा १४ वटा बचत तथा ऋण, १८ बहुउद्देश्यीय, ३ कृषि, १० दुग्ध, ३ उपभोक्ता, १ विद्युत, १ डिजेल मिल, १ जडिबुटी र एक जिल्ला संघ खारेज भएको जनाइएको छ । कमजोर व्यवस्थापन भएका, क्षमता बढाउन नसक्ने सहकारी बन्द अवस्थामा पुगी खोरजीमा पर्ने गरेका हुन् । संख्याको तुलनामा गुणात्मक विकास गर्न नसकेको आरोप पनि सहकारी संस्थाहरुलाई लाग्ने गरेको छ । सरकारले पनि सहकारी एकीकरण अभियानलाई प्रवद्र्धन गरिरहेको छ ।
एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धवलागिरि अञ्चलमा पनि सहकारीबीच एकीकरण भइरहेको छ । हालसम्म अञ्चलका १४ वटा सहकारी एकीकरण भएको कार्यालयले जनाएको छ । सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पूँजी, भौतिक तथा मानवीय संसाधानद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ÷संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारीहरु एकीकरण हुने गरेका छन् । धवलागिरि अञ्चलमा एकहजार ६१ वटा सहकारी दर्ता छन् ।