राष्ट्रिय सहकारी बैंक लिमिटेडका केन्द्रीय सञ्चालक रामबहादुर जिसीले कच्चा पदार्थ र कच्चा श्रम निर्यात गर्ने देश कहिल्यै समृद्ध बन्न नसक्ने दावी गरे । धन्वन्तरी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको दोस्रो वार्षिक साधारणसभाको शनिबार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताए । देशमा उत्पादन भएका स्रोतहरु सस्तोमा विक्री गर्ने र विदेशबाट महंगोमा प्रशोधित सामान खरिद गर्ने तथा युवा जनशक्तिलाई विदेशमा श्रम गर्न पठाएर स्वदेशको विकास संभव छैन, उनले भने । राजनीतिक दलहरुले आफ्ना घोषणापत्र मार्फत देशको आर्र्थिक समृद्धिको कुरालाई प्राथमीकतामा राखेका छन्, जिसीले भने घोषणापत्रमा मात्रै राखेर हुदैन, समृद्धिका लागि स्थानीय स्रोत साधन र जनशक्तिको सही पहिचान र परिचालन आवश्यक छ ।
हाम्रो देशमा रहेका जडिवुटी लगायत महत्वपूर्ण स्रोतहरु पहिचान, उत्पादन, प्रशोधन र बजारीकरणको अभावमा खेर गैरहेको भन्दै यसको समुचित विकासमा ध्यान दिन उनले सरोकारवालाहरुलाई आग्रह गरे । खेर गैरहेको जडिबुटीको पहिचान गरी उपयोग गर्न सक्याँै भने देश समृद्धिको महत्वपूर्ण माध्यम बन्न सक्ने भएकाले यसतर्फ ध्यान दिन उनले सबैसंग आग्रह गरे । स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि, पशुपालन, जलस्रोत लगायत सेवा र उत्पादनका क्षेत्रको समग्र विकासका लागि राज्य, निजी र सहकारी क्षेत्रमा रहेको पूँजि र श्रमलाई लगाउने खालका योजना आवश्यक रहेको जिसीको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्मा, संस्थाका सल्लाहकार कर्णबहादुर हमाल, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चुडामणी आचार्य, सामुहिक वचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष वृहस्पती कंडेल, संस्थाका शेयर सदस्य नरेन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संंस्थाका अध्यक्ष रमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष चेतराम चर्माकारको स्वागत र सचिव सुदर्शन कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभामा संस्थाका सचिव कंडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्षका तर्फबाट लेखा सदस्य शिवकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक यामबहादुर पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । आयुर्वेद उपचारका माध्यमबाट जनताको स्वास्थ्य सेवामा योगदान गर्ने उदेश्यका साथ स्थापित संस्थाले स्थानीय स्तरमा खेर गइरहेका जडिबुटीको संरक्षण गर्नुका साथै संकलन केन्द्र राखेर विक्री वितरण गर्ने योजना पारित गरेको छ ।













































































































































































































