युवा महिलाहरुलाई सहकारी मार्फत आत्मनिर्भर गराउने उदेश्यका साथ पर्वतको कुश्मामा सहकारीमा आबद्ध भएका र हुने तयारीमा रहेका युवा महिलाहरुका लागि बहस, पैरवी तथा सहजिकरण तालिम सञ्चालन गरिएको छ ।
२ दिनसम्म सञ्चालन हुने तालिममा पर्वतको फलेवास नगरपालिका र ब्यादी गाउँपालिकाका विभिन्न समुह र सहकारी संस्थामा आबद्ध १६ देखि ३५ वर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ ।
आय आर्जन बढाउन, त्यसबाट प्राप्त भएको पैसालाई वचत गर्न सिकाउने लक्ष्य रहेको छ । नेतृृत्व , क्षमता विकास, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारी उपयुक्त देखिएकाले युवा महिलाहरुलाई सहकारीमा आबद्ध गराउने अभियान सञ्चालन गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिए ।
महिलाहरुसँग भएको श्रम, सीप र पुँजीलाई परिचालन गरी थप आय आर्जनका लागि सहकारी माध्यम उपयुक्त भएकाले युवा उमेरका महिलाहरुलाई सहकारीमा आबद्ध गराउने कार्य सह्रानिय भएको तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए ।
सानो सानो पुँजी जम्मा गरेर ठुला ठुला काम गर्न सकिने भएकाले सहकारी संघ संस्थाबाट कर्जा लिएर आय आर्जनका विभिन्न काम गरी आम्दानी बढाउन, आम्दानी भएको रकम पहिला वचत गर्ने, नयाँ सोच र प्रविधि बारे जानकारी लिनका लागि सहकारी संस्थामा आबद्ध हुन जरुरी रहेको बताए । विभिन्न समुहमा आबद्ध महिलाहरुलाई सहकारीमा आबद्ध गराएर अगाडि बढाउन सकेमा सहजता हुने जिसीको भनाइ छ ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरिक्षक होमनाथ ढकालले सहकारीको सिद्धान्त, मूल्य मान्यता र आदर्शलाई आत्मसाथ गरेर अगाडि बढ्न सकेमा आर्थिकसंगै नेतृत्व विकास र सामाजिक रुपान्तरणमा समेत सहयोग पुग्ने धारणा राखेका थिए ।
तालिममा सहभागी युवा महिलाहरु तुलसी सुनार, अमृता थापा, दिपिका भट्टराई, मुस्कान क्षेत्रीले समाजका हरेक क्षेत्रमा महिलाहरुलाई अगाडि ल्याउनका लागि सबै भन्दा पहिला आर्थिक सशक्तीकरणको आवश्यकता पर्ने भएकाले सहकारी मार्फत महिलाहरुलाई आर्थिक क्षेत्रमा सवल बनाउन आफुहरु जुटेको बताएका थिए ।
इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला सशक्तीकरण परियोजना अन्तरगत सञ्चालित तालिममा सहकारीका मूल्य मान्यता र सिद्धान्त लगायतका विषयमा सहजिकरण गरिने इन्प्रेड नेपाल पर्वतका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिए ।













































































































































































































