बागलुङ ताराखोलाको वस्ती नजिकै वनमा आगलागी भएको छ । ताराखोला गाउँपालिका–५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिँदै वडा नम्बर–४, मसिनाको भिरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ ।
बिहीबार दिउसो स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खरबारीमा काँडा पोल्न लगाएको आगो फैलिएर झण्डै १ सय हेक्टर वन जलेको हो ।
खरबारीको काँडा जलाएर सकेपछि आगो निभाए पनि छुटेको ठाउँबाट सल्कीएको बताईएको छ । दिउसो २ बजेदेखि सल्किएकोे आगो फैलिएर गाउँ तर्फ अघि बढेपछि बेलास्पुर, धस्मर, लाबाङसहित आसपासको बस्तीमा समेत आगलागीको जोखिम बढेको छ ।
स्थानीयवासीले दिनभर आगो निभाउने प्रयास गरे पनि अप्ठ्यारो भिरमा ठूलो आगो दन्किएकाले नियन्त्रणमा लिन नसकिएको ताराखोला–५ का वडा अध्यक्ष रामबहादुर रोकाले जानकारी दिए ।
उनका अनुसार स्थानीय गाउँ धस्मर, लाबाङ, करिमेला, नाकबेलीखोला, बेलास्पुर र आसपासबाट २ सय भन्दा बढी स्थानीयवासी जम्मा भएर आगो निभाउन जुटिरहेका छन् ।
आगो दियालोको रुपमा वाल्न प्रयोग गरिने सल्लाका रुख र सुकेको खरमा दन्किएपछि नियन्त्रणमा कठिनाई भएको रोकाले जानकारी दिए ।
आगलागिपछि तत्काल ईलाका प्रहरी कार्यालय ताराखोलामा खवर गरेपनि साँझ ६ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन । घटनाबारे बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठसँग बुझ्न खोज्दा आफुलाई कुनै जानकारी नभएको वताए । जिल्ला प्रसाशन कार्यालय बागलुङमा पनि घटना बारे अहिलेसम्म कुनै जानकारी नभएको हामीलाई बताएको छ ।
























































































































































































































