४ श्रावण २०८३, सोमबार

 

मनकामना महिला बचत तथा ऋण सहकारीको पाँचौ साधारण सभा

महिलाहरुलाई आर्थिक क्षेत्रमा उकास्ने उद्देश्यका साथ वि.स २०६९ मा स्थापना भएको मनकामना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका–९ मल्मको पाँचौ साधारण सभा शनिबार बाँसखोलामा सम्पन्न भएको छ ।

कार्यक्रमको समुद्घाटन पछि बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिकाकी उप–प्रमुख रेनुका काउचा मगरले सहकारीमा आबद्ध महिलाहरुले आफनो जीवन स्तर उकास्न व्यवसायीक रुपमा अघि बढदै जानु पर्ने बताईन । काउचाले सेवाग्राहीलाई नगरपालिकाले दोहोरो करको मारमा नपार्ने समेत बताईन ।

नगरले सम्पूर्ण सहकारीका समस्यालाई मध्यनजर गर्दै सबै सहकारीका अध्यक्षहरुसँग छलफल गरि सहकारी तालिम सञ्चालन गर्न बजेट समेत विनियोजन गरिसकेकोले आवश्यक सुझाव सल्लाह अनुरुप नै अगाडी बढने बताईन । पछिल्लो समय सहकारीले महिलाहरुको नेतृत्व विकास, एक आपसमा स्वामिप्यता, आर्थिक व्यवस्थापनसँगै स्तरवृद्धिमा उल्लेख्य भूमिका खेलेको समेत बताईन । कार्यक्रममा सहकारीका लेखा संयोजक कमला मल्लले सहकारीको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी हुन ।

सो अवसरमा सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, मल्म बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका–९ का अध्यक्ष तेजबहादुर थापा, ग्रामिण जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव पुरुषोत्तम गौतम, ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम गौतम, भैरव माध्यमिक विद्यालयका प्रधानध्यापक चक्रवर्ती शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा असल बाल बचतकर्ता, नियमित खुत्रुके बचतकर्ता, असल ऋणी, उत्कृष्ट बचत समुह, नियमित बचतकर्ता, आवधिक बचतकर्ता र उत्कृष्ट सेयर सदस्य लगायतलाई सम्मान समेत गरिएको थियो । सहकारीले यो आर्थिक वर्षमा ६३ लाख ६८ हजार ३ सय ९४ रुपैयाको आर्थिक कारोबार गर्न सफल भएको छ । साधारण सभा सहकारी संस्थाका अध्यक्ष नमुना गौतमको अध्यक्षता, सचिव सावित्री शर्माको स्वागत र उपाध्यक्ष जीवनज्योति विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung