१२ कार्तिक २०८३, बुधबार

 

समृद्ध समाज निर्माणका लागि सहकारीलाई प्रभावकारी बनाऔं ः अध्यक्ष थापा

- काठेखोलाका सहकारीकर्मीलाई ऐन सम्बन्धी सचेतना

काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले गरिवी निवारण गरी समृद्ध समाज निर्माणका लागि सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । काठेखोला गाउँपालिकाको सहयोगमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले मंगलवार भीमसेन मावि बिहुमा आयोजना गरेको काठेखोला गाउँपालिकाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुका लागि सहकारी ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन् । कुरा समृद्धिका गरेर मात्रै देश समृद्ध हुदैन, त्यसका लागि स्थानीय स्रोत साधनको अधिकतम परिचालन आवश्यक छ भन्दै उनले जनतालाई उत्पादनमा केन्द्रीत गरी आयआर्जन वृद्धि गर्नका लागि सहकारी माध्यम उपयुक्त हुने धारणा राखे ।
सहकारीहरु पनि उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत नभएर बचत तथा ऋणको मात्र काम गरेको भन्दै उनले सहकारीको मर्म र भावना अनुसार जनतालाई उत्पादनमा केन्द्रीत गर्न सहकारीहरु लाग्नु पर्नेमा जोड दिए । काठेखोलामा सहकारी क्षेत्रले उत्पादन लगायत विभिन्न क्षेत्रमा प्रभावकारी काम गरेको भन्दै अध्यक्ष थापाले आगामी दिनमा थप सहकार्य गरेर गाउँपालिकालाई उत्पादन सहकारीहरुको अनुकरणीय क्षेत्र बनाउन लाग्नु पर्ने बताए । कार्यक्रममा सहकारी ऐन २०७४ सम्बन्धमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीहरुले आफ्नो उदेश्य र सहकारीको मर्म अनुसार काम गर्न सक्ने हो भने जनताको आर्थिक अवस्था माथि उठाउन धेरै समय नलाग्ने बताए । सहकारीहरुले समाजमा व्यवसाय गरेर आयआर्जन गर्न, वचत गर्न सिकाएको भन्दै उनले जनतासंग भएको श्रम, सिप र पूँजिलाई थप परिचालनका लागि स्थानीय सरकारले योजना ल्याउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका आर्थिक समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले काठेखोलालाई उत्पादनको विशेष क्षेत्रका रुपमा विकास गर्नका लागि गाउँपालिका सक्रियताका साथ लागेको जानकारी गराउदै सहकारी संघ संस्थाहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा काठेखोला वडा नं. १ का अध्यक्ष खडक थापा, नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका लेखा सदस्य खिमबहादुर कार्की, स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सिता शर्मा, वचत तथा ऋण सहकारी संघका सचिव ऋषिराम गौतम, सहभागीहरु मध्येबाट उमा केसी र गोरेबहादुर विकले सहकारी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्दै सहकारीलाई समाज रुपान्तरणको महत्वपूर्ण अंगका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सचिव तेजेन्द्र थापा मगरको सञ्चालन र कोषाध्यक्ष अञ्जु जिसीको स्वागतमा सम्पन्न भएको थियो । काठेखोला गाउँपालिकामा क्रियाशिल ४२ वटा सहकारी संघ संस्थाका ८० जना सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी ऐन २०७४ मा रहेका प्रावधान र सहकारी संघ संस्थाहरुले गर्नु पर्ने कार्यहरुको बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung