राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले गाउँ घरमा खेर गैरहेका वस्तुहरुको सदुपयोग गरेर आयआर्जनका लागि सहकारीका सदस्यहरुको सक्रियता आवश्यक रहेको बताएका छन् ।
सुनगाभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामले वडा नंं ३ धम्जामा आयोजना गरेको सहकारी शिक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन् । आर्थिक तथा स्वास्थ्यका दृष्टिले समेत फाइदाजनक हुने धेरै स्रोतहरु त्यसै खेर गैरहेको र प्याकिङ भएर आउने वस्तुहरुको उपभोगमा बढी केन्द्रीत हुने अवस्थाको अन्त्यका लागि स्थानीय स्रोतको परिचालनमा उनले जोड दिएका हुन् ।
सहकारीहरुले वचत तथा ऋणसंगै स्थानीय स्तरमा रहेका स्रोत र साधनहरुको पहिचान, उत्पादन र परिचालनमा जोड दिए ।
सहकारीमार्फत समाज रुपान्तरणको अभियानमा सहकारीका सबै शेयर सदस्यहरुलाई सक्रिय बनाउनका लागि सहकारी शिक्षा र सचेतनामा जोड दिए । 
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुबहादुर थापा, कोषाध्यक्ष थीर बहादुर राना, काठेखोला गाउँपालिका वडा नं. ३ का वडा सदस्य पूर्णबहादुर थापा लगायतले सहकारीका सदस्यहरुको सक्रियतामा समाजको रुपान्तरण सहज हुने भन्दै सदस्यहरुको सक्रियताका लागि जोड दिएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष गीरबहादुर पुनको अध्यक्षता, सचिव टिका संगम विकको सञ्चालन र तालिम संयोजक खीमप्रसाद पुनको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाको कार्यक्षेत्र काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमा सदस्यको भूमिका, वचत गर्ने तरिका, कर्जा तथा सहकारी मार्फत गर्न सकिने व्यवसायका बारेमा सहजीकरण गरेका थिए ।
संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत बिहीवार तंग्रामका शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक होमनाथ ढकालले सहजीकरण गरेका थिए ।



















































































































































































































