उनको आफ्नै खाने बस्ने ठाउँको ठेगान छैन । तर पनि जिल्लाको जैमिनी नगरपालिका—७ जैदीका होमबहादुर क्षेत्री ठूला दानवीरका रुपमा कहलिएका छन् । उनी पेशाले विद्यालयको कार्यालय सहयोगी हुन् । आफ्नो बिहान बेलुकाको छाक टार्नका लागि स्थानीय घरमा काम गर्ने उनले कार्यालय सहयोगीको जागिरबाट आएको रकम विभिन्न शैक्षिक र सामाजिक संघ संस्थालाई दिएर ठूलो दानवीरको रुपमा आफुलाई उभ्याएका छन् । उमेर ६८ वर्ष पुगेका क्षेत्रीको दाह्री कपाल सेतै फुलेका छन् । तैपनि काम गर्ने जोश र जाँगरमा कुनै कमी आएका छैन । बा—आमाको बारेमा उनलाई कुनै याद नै छैन । घरबार जोडेर जमेन । अहिलेसम्म एक्लै जिन्दगी बिताएका उनले जीवनभरको सम्पूर्ण कमाई शैक्षिक र सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।
“मलाई लाउन खानका लागि कुनै समस्या छैन, यहाँ जहाँ जसको घरमा गए पनि मलाई खान दिईहाल्छन्,’ क्षेत्री भन्छन् ‘बिहान बेलुका अरुकै घरमा काम गरेर आफ्नो जिन्दगी पालेको छु । जागिरबाट आएको पैसाले चन्दा दिने गरेको छु ।” जैमिनी नगरपालिका—७ जैदीलाई कर्मथलो बनाएका क्षेत्री त्यहाँ जन्मेका भने होईनन् । उनको जन्म काठेखोला गाउँपालिका—३ धम्जामा भएको हो । ‘मेरो जन्म त बागलुङकै धम्जा गाउँमा भएको भएको रैछ, म ९ वर्षको उमेर देखि घर छोडेर हिँडेको रहेछु । यहाँ आएर दुःख गर्न थालेको पनि ४० वर्ष भन्दा बढि भयो,’ उनले भने । क्षेत्री आफुले काम गर्ने विद्यालयको पहिलो चन्दादाता पनि हुन् । ‘संस्कृत माविलाई उच्च मावि बनाउने भनेपछि पहिलो चन्दा मैले नै दिएको हुँ,’ उनी भन्छन्,‘मैले एक लाख रुपैयाँ दिएपछि अरुले पनि सहयोग गरेर उच्चमावि भएको हो । अहिले त मावि नै भन्छन् ।’
२०३५ सालमा एक सय ५० रुपैयाँबाट जागिरे जीवन सुरु गरेका होमबहादुरले जीवनभरको कमाइ शैक्षिक तथा सामाजिक संस्थालाई प्रदान गरेका छन् । आफुले सहयोग गरेको विद्यालय र संस्था कतिपय त उनलाई पनि छैन । ‘एक दर्जन बढि विद्यालय र क्लवहरुलाई सहयोग गरेको छु, कतिपयको मलाई नाम पनि याद छैन,’ उनी भन्छन्,‘अहिलेसम्म १२ देखि १३ लाख रुपैयाँ जति चन्दाको रुपमा सहयोग गरेको छु ।’ क्षेत्रीले संस्कृत मावि बेलबगरलाई नगद एक लाख सहयोग गरेका छन् । त्यस क्षेत्रको जनशिक्षित मावि अर्जेवालाई ७५ हजार, वसन्त मावि छिस्तीलाई २५ हजार, कुइधाङ प्रावि जैदीलाई १५ हजार, सरस्वती निमावि जैदीलाई ५० हजार र वागलिङ प्रावि छिस्तीलाई १० हजार सहयोग गरेका छन् ।
कसलाई कति सहयोग गरें भन्ने फेहरिष्ट नराख्ने भएकाले धेरैजसो भुलिसकेको उनी बताउँछन् । ‘धरै जसो मैले स्कुललाई नै सहयोग गरेको छु, आफुले बाउआमा नै चिन्न पाईएन, पढ्ने भन्ने कुरा त धेरै परको भयो,’ क्षेत्री भन्छन्,‘सबैका छोराछोरी पढ्न पाउन भनेर स्कुललाई सहयोग गर्ने गरेको छु ।’ उनले विद्यालयका अतिरिक्त रेडक्रस, युवा क्लब, बाटोघाटो र पुल निर्माणमा समेत सघाएका छन् । ‘मलाई पैसा चाँहिदैन, भयो भने पनि दिऊँ दिँऊ भैहाल्छ, पैसा मान्छेको शत्रु हो साथमा राख्नै मन लाग्दैन,’ उनले भने । तलबबाट आएको सबै पैसा सामाजिक क्षेत्रमा लगाउने क्षेत्री जीवन गुजाराका लागि बिहान बेलुका काम गर्छन । उनको सिद्धान्त छ—तीन घण्टा काम तीन चोईली भात ।
‘म काम नगरी खाँदिन, तीन घण्टा काम गर्ने तीन चोईली भात खाने मेरो बानी छ,’ उनी भन्छन्,‘कपडा पनि अरुले दिएर प्रसस्त छ ।’ उनलाई काम नगरी बस्नै मन लाउँदैन । उनको कामले नै समाजमा सम्मान दिलाएको छ र सबैको माया पनि । चन्दा सहयो गरे बापत पाएको सम्मानले उनलाई निकै ठूलो खुशी दिन्छ । भन्छन्,‘जैदीबाट जनशिक्षित मावि अर्जेवासम्म बाजागाजासहित डोली चढाएर लगे । मरो लागि यो भन्दा ठूलो कुरा के हुन्छ र ?’ २०३५ सालमा एक सय ५० रुपैयाँमा सेवा शुरु गरेका उनी १६ हजार तलब खाँदै गर्दा तीन वर्ष अघि सेवा निवृत्त भए । उमेर हदका कारण तत्कालिन जिल्ला शिक्षा कार्यालयले उनलाई कार्यालय सहयोगीबाट हटाएको हो । शिक्षा मन्त्रालय र विभागमा कुनै रेकर्ड नपुगेका कारण उनले पेन्सन र उपादान केही पनि पाएका छैनन् ।
‘उमेर हद पार गरेको भन्दो जिल्लाले निकालिदियो, अहिले स्थानीय स्रोतबाट महिनाको चार हजारमा संस्कृत माविमै काम गरिरहेको छु,’ उनले भने,‘पेन्सनका लागि कोसिस भैरहको छ, सरहरुले कोसिस गर्नुभएको छ ।’ पेन्सन या उपादान पाएमा त्यस बापतको रकम क्याम्पस सञ्चालनका लागि खर्च गर्ने उनको धोको छ । ‘अब यस क्षेत्रमा बहुमुखी क्याम्पसको खाँचो छ,’ उनी भन्छन्,‘पेन्सन या उपादान आयो भने पाँच लाख क्याम्पसका लागि दिने भनेको छु । खै कैले हुन्छ ?’ क्षेत्रीले खाना मात्रै होईन बास पनि अर्कैको घरमा काट्ने गरेका छन् । पाँच लाख खर्चेर घर बनाए पनि घरमा उनी बस्दैनन् र खाना पनि बनाउँदैनन् । ‘पाँच लाख खर्चेर घर बनाएको छु, लालपुर्जा मेरो नाममा छैन । एउटामा हुलाक बसेको छ, अर्कोमा हेलपोष्टका डाक्टर बसेका छन्,’ उनले भने,‘म त जता खायो उतै बस्छु, घरमा खाना पकाउँदिन घरमा खाना पकाउन थाल्ने हो भने चन्दा दिने पैसा पुग्दैन ।’
शैक्षिक र सामाजिक क्षेत्रमा होमबहादुरको ठूलो योगदान छ
अरुण चालिसे (प्रधानाध्यापक संस्कृत मावि बेलबगर)
विद्यालयका लागि होमबहादुरको योगदान कस्तो छ ?
होमबहादुर यो विद्यालयको सूरुवाती समय देखि नै कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका हुन् । २०४६ सालमा विद्यालय व्यवस्थापन समितिले स्थायी गरेको हो । उनी यस विद्यालयको कार्यालय सहयोगी मात्र होईन यो विद्यालयको प्रधान संस्थापक पनि हुन् । विद्यालयको भौतिक विकासका लागि पनि उनले नगद एक लाख रुपैयाँ त चन्दा सहयोग गरेका छन् । त्यस बाहेक विद्यालयकौ भौतिक संरचना निर्माणका क्रममा उनले श्रमदान पनि गरेका छन् । कुनै पनि काम गर्न नहिचकिचाउने उनको स्वभावले उनलाई सबैले मन पराउँछन् । विद्यालयमा शैक्षिक वातावरण सिर्जनाका लागि पनि उनको ठूलो भूमिका छ । विद्यालय आउन नमान्ने बालबालिकालाई चकलेट मिठाई दिएर भए पनि विद्यालयमा ल्याउँछन् । यस संस्कृत माविको विकासमा उनको योगदान अद्वितीय छ । हामीले विद्यालयको विकासमा योगदान पु¥याउनेहरुको तस्विर विद्यालयमा राख्ने कार्यक्रम बनाउँदैछौं । त्यसमा होमबहादुर तस्विर सबैभन्दा पहिला र सबैभन्दा ठूलो तपाईहरुले देख्न पाउनुहुनेछ ।
होमबहादुरले जीवनभर कमाएको रकम शैक्षिक क्षेत्रमा खर्चिनुभएको भएको भन्ने साँचो हो ?
हो, यो कुरा साँचो नै हो । हाम्रै संस्कृत माविमा एक लाख दिए । १०—२० हजार देखि ८०—९० हजारसम्म उनले धेरै विद्यालयलाई सहयोग गरेका छन् । संस्कृत मावि बेल बगर अन्तर्गत २६ वटा विद्यालय छन् । सायद मलाई लाग्छ ती सबै विद्यालयहरु कुनै पनि उनको सहयोगबाट छुटेका छैनन् । उनी आफ्नो साथमा कहिले पैसा राख्दैनन् । विभीन्न संघ संस्थाहरुलाई पनि उनले आर्थिक सहयोग गरेका छन् । ठ्याक्कै कति सहयोग गरे भन्ने कुरा त सम्बन्धीत विद्यालयहरुसंग नै सोध्नुपर्ला । हाम्रो अनुमानमा उनले यस क्षेत्रको विदालयहरुलाई १० दखि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनको आफ्नै दुई तलाको घर पनि छ । त्यसलाई पनि भाडामा लगाएका छन् । त्यसबाट आउने रकम पनि उनी चन्दा सहयोग गरिहाल्छन् ।
विद्यार्थी र शिक्षकहरुसंग उहाँको सम्बन्ध कस्तो छ ?
उनी मेहनती र मिलनसार भएकाले सबैले उनलाई माया गर्छन् । विद्यार्थीहरु सबैले उनलाई मामा भन्छन् । विद्यार्थीलाई जसरी पनि पढ्नुपर्छ भनेर सन्देश दिन्छन् । विद्यालय आउन नमानेका बालबालिकालाई जसरी भए पनि फकाएर आफै विद्यालयमा ल्याउँछन् । सानो ठूलो नभनि सबैले भनेको मान्ने र अह्राएको काम गर्ने भएकाले उनलाई सबैले रुचाउँछन् ।
लामो सेवापछि निवृत्त हुँदा उहाँले किन कुनै पनि सेवा सुविधा पाउनुभएन ?
हामी यहाँ आएको १२—१५वर्ष भयो । उनी त ४० वर्षदेखि यही विद्यालयमा काम गरिरहेका छन् । २०४६ सालमा विद्यालय व्यवस्थापन समितिले स्थायी नियुक्ती दिएपछि जिल्ला शिक्षाबाट उनले तलब खाँदै आएका थिए । तर उनको रेकर्ड र कागजातहरु मन्त्रालय र विभागमा नुपगेको रहेछ । उमेर हदका कारण अनिवार्य अवकासमा जानुपर्ने भएपछि हामीले मन्त्रालय र विभागमा फाईल पेश ग¥यौं । निवृत्तीभरण या उपादान पाउनुपर्छ भनेर अहिले पनि लडिरहेका छौं । नयाँ शिक्षा नियमावली आउन लागेको भनेर कुरा अड्किएको छ । त्यहाँबाट समाधान भएन भने हामी अदालती प्रक्रियामा जाने पनि तयारीमा छौं ।
समाजिक रुपमा चाँही होमबहादुर कस्तो व्यक्ति हुनुहुन्छ ?
सामाजिक रुपमा पनि उनी निकै मिलनसार र असल छन् । उनलाई गाउँघर यस क्षेत्र वरपर सबै ठाउँका मानिसहरु उनलाई असाध्यै माया गर्छन् । धेरै सामाजिक संघ संस्थाहरुलाई पनि सहयोग गरेका छन् । उनले अहिले पनि आफ्नो घरमा खाना पकाउँदैनन् । उनले अनिवार्य अवकास पाए पनि विद्यालयमा लामो समयदेखि काम गर्दै आएकाले हामी निजी स्रोतबाट केही रकम दिएर राखेका छौं । अझै पनि बिहान बेलुका अर्कैको घरमा काम गरेर आफ्नो छाक टार्छन् । समाजमा कोही बिरामी भयो भने बोकेर स्वास्थ्य संस्थामा पु¥याउँछन् । कसैको घरमा खाने छैन भने आफै चामल किनेर पु¥याईदिन्छन् । उनको घरमा कोही छैनन् एक्लै छन् र पनि सबै गाउँलेलाई आफ्नो मान्छन् । सबै पैसा चन्दा दिनु हुँदैन आफ्नो भविष्यको लागि पनि राख्नुपर्छ । पछि कसैले सहयोग गर्दै होमबहादुर भनेर हामीले सम्झाउँछौं । तर पनि उनले एक पैसा आफुसंग नराखी सहयोग गर्छन् । उनको उमेर पनि पाको हुँदै गयो । अहिले पहिले जस्तो काम गर्न सक्दैनन् । त्यै पनि उनी अरुकोमा काम गर्दै छोड्दैनन् । अब त उनलाई काम नगराए पनि हुन्थ्यो जस्तो हामीलाई लाग्छ ।



















































































































































































































