१२ कार्तिक २०८३, बुधबार

 

बागलुङ कालिका भगवती मन्दिरमा वन्यजन्तु संरक्षण उद्यान बन्दै

बागलुङ कालिका भगवती मन्दिर परिसर वन्यजन्तु संरक्षण उद्यान बनाउन काम अघि बढेको छ । यही वर्ष तारबार गर्ने, अग्नीरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ । वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षण उद्यानको काम शुरु गरेका हुन् ।

वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको मन्दिरका अध्यक्ष राजु खड्काले बताउनुभयो । उहाँका अनुसार मन्दिरको चारैतिर फैलिएको १ सय ९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रुपमा विकास गरिनेछ । ‘यहाँको हावापानीमा हुने वन्यजन्तुलाई संरक्षित रुपमा राख्छौं,’ उहाँले भन्नुभयो, ‘वन्यजन्तु उद्यानले पर्यटकलाई समेत आकर्षित गर्नेछ ।’
तारबारले घेरेको अस्थायी संरचनामा हालै मात्र दुई मृगलाई संरक्षण गरि राखिएको छ । पूर्वाधार तयारीसँगै अन्य वन्यजन्तुलाई पनि उद्यानमा राखिने जनाइएको छ ।

‘मृगको गतिविधि, स्वभाव र खानपान बुझ्दैछौं,’ अध्यक्ष खड्काले भन्नुभयो । प्रारम्भिक अध्ययन अनुसार मन्दिर परिसको जंगलमा मृग, बाह्रसिङ्गे, बँदेल, चितुवा लगाएतका वन्यजन्तु रहन सक्ने देखिएको छ । यस्तै, कालिज, कोइरल जस्ता गरि दर्जनौं जातका पंक्षीजन्य जीवहरु उद्यानमा रहनेछन् ।
जंगल परिसरमा रहेका चराहरुलाई पनि संरक्षित रुपमा राखिने जनाइएको छ । ‘यहाँ नभएका वन्यजन्तु र पंक्षी बाहिरबाट ल्याएर राख्छौं,’ अध्यक्ष खड्काले भन्नुभयो, ‘मन्दिर क्षेत्रको सबै जंगल वन्यजन्तु संरक्षणको रुपमा रहन्छ ।’ वन्यजन्तु संरक्षणको लागि वन क्षेत्रलाई चारैतिरबाट सुरक्षित घेराबार गरिने भएको छ । चालु आवमा छुट्टिएको बजेटबाट केही मात्रामा तारजाली लगाउने र अग्नीरेखा बनाउने शुरु भएको छ ।

अग्नीरेखा र तारजालीको काम वन मन्त्रालयको सहयोगमा अघि बढेको हो । यस्तै, बागलुङ नगरपालिकाबाट वन्यजन्तु संरक्षणको लागि यो वर्ष विनियोजित रु. १५ लाखबाट तारजाली लगाउने काम गरिएको छ । सबैतिर तारबार गर्न करिब रु. पाँच करोड खर्च लाग्ने अनुमान गरिएको छ । आगामी वर्ष पनि वन्यजन्तु संरक्षण उद्यानको लागि बजेट छुट्टाइने बागलुङ नगरपालिकाले जनाएको छ । उद्यानको विस्तृत सर्वेक्षण गर्न नगरपालिकाले विज्ञ टोली पनि खटाएको छ ।

यस्तै, जिल्ला वन कार्यालय, ढोरपाटन शिकार आरक्ष र जिल्ला समन्वय समितिले पनि संयुक्त अध्ययन समिति बनाएका छन् । उक्त समितिले दिने प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षणको कामलाई थप अघि बढाइने भएको छ । समितिले वनजन्तु संरक्षको लागि चाहिने सबै पूर्वाधार र जनशक्ति व्यवस्थापनमा उचित सुभाव दिनेछ । दुवै समितिले गरेको प्रारम्भिक अध्ययनले मन्दिर परिसरमा वन्यजन्तु उद्यान बनाउन उपयुक्त देखाएको छ । कालिका मन्दिरको वन क्षेत्र समन्द्री सतहदेखि करिब एक हजार मिटरको उचाइमा अवस्थित छ ।रासस

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung