१२ कार्तिक २०८३, बुधबार

 

मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटना, १९ जना मजदुरको मृत्यु

-  १८ जनाको सनाखत, ८ जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् पोखरा  

मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका–३ स्याङबोचेमा भएको टिपर दुर्घटनामा परि १९ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा १३ जना मजदुर गम्भीर घाइते छन् । मृृृृृृृृत्यु हुनेमा दाङका ३० वर्षीय बालकुमार घर्ती, रोल्पाका २८ वर्षीय सुपमान रोका, धादिङका २३ वर्षीय सुजन घलान, सिन्धुपाल्चोकका २० वर्षीय जीवन माझी, कैलालीकी २२ वर्षीय बिन्ती घर्ती, रोल्पाका १९ वर्षीय महेश रोका छन् ।

यस्तै, कपिलवस्तुका ३५ वर्षीय कमानसिंह रोका, दाङकी ३१ वर्षीया कविता घर्तीमगर, रोल्पाका ३२ वर्षीय राजकुमार पुन, दाङका ३५ वर्षीय सुवेर चौधरी, कैलालीकी २३ वर्षीया विनीता घर्ती, दाङकी ४३ वर्षीया शान्ति थापा, रोल्पाका ३२ वर्षीय शोन्तु घर्ती, स्याङ्जाका २४ वर्षीय कृष्ण क्षेत्री, दाङका २५ वर्षीय कमल बुढा, रोल्पाकी २१ वर्षीया जीतमाया घर्ती, रोल्पाकै २० वर्षीया सिर्जना मगर, रोल्पाकै २३ वर्षीय राष्ट्रे रोका रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मृतक एक जनाको नाम खुल्न सकेको छैन । बेनी–कोरला सडक खण्डमा काम गर्ने मजदुर चढेको बा.२ क २२१९ नम्बरको टिपर आज दिउँसो दुर्घटनामा परेको हो । गम्भीर घाइते ८ जनालाई उपचारको लागि एयर डाइनेस्टी र नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो ।

घाइतेमध्ये पाँच जनाको सदरमुकाम जोमसोममा उपचार भइरहेको छ । घटनास्थल जोमसोमदेखि ५० किमिको दुरीमा रहेको जनाइएको छ । दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इन्जिनियर जगत प्रजापतिले बताउनुभयो । सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुनसक्ने बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।रासस

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung