२९ असार २०८२, आईतवार

 

गलकोटमा नेकपाको एकता सन्देश सभा

- राजमो र कांग्रेस परित्याग गरी ४ सय २९ जना नेकपामा प्रवेश

दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको एकता सन्देश आम जनताका बीचमा पु¥याउने लक्ष्यका साथ बागलुङको गलकोट बजारमा शुक्रवार एकता सन्देशसभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यदल बागलुङले आयोजना गरेको एकता सन्देशसभामा बोल्दै पार्टीका स्थायी कमिटि सदस्य तथा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले देशमा व्याप्त गरिवी, अभाव र अशिक्षाको अन्त्यका लागि शक्तिशाली पार्टीको आवश्यकता महसुस गरेर पार्टी एकीकरण गरिएको बताए ।

उनले राजनीतिक क्रान्ति सम्पन्न गरेर समृद्धिको अभियानमा लाग्नका लागि नेपाल कम्युनिष्ट पार्टी निर्माण गरिएको भन्दै सबै नेता कार्यकर्तालाई इमान्दारीपूर्वक जनताका समस्यासंग जोडिन आव्हान गरे । देशमा रहेको गरिवी, अभाव र अशिक्षाको अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टीको विकल्प नभएको भन्दै नेता पौडेलले स–साना कम्युनिष्ट पार्टीका नाममा अलमल नगरी शक्तिशाली पार्टी निर्माणको अभियानमा जुटेर समृद्धिको अभियान सफल पार्न बामपन्थी शक्तिहरुलाई आग्रह गरे । नेपाली कांग्रेसको भविष्य छैन, पटक पटक बहुमत पाएर पनि उसले स्थिरता दिन नसकेको आरोप लगाउदै उनले काग्रेसका कार्यकर्ताहरुलाई पनि नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुन आव्हान गर्नु भयो ।

नेता पौडेलले गोविन्द केसी र गंगामायाको नाममा विपक्षले सरकारलाई अल्मलाउन खोजेको आरोप समेत लगाए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य मनकुमारी केसीले देशको समृद्धिका लागि स्थानीय, प्रदेश र संघीय सरकारले ल्याएका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध मुलुक निर्माणका लागि स्थानीय स्रोतको परिचालनमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य गोविन्द नेपालीले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा समृद्ध समाज निर्माणको महान अभियानलाई सफल बनाउन सबै तहका नेता कार्यकर्ता र आम जनताको सहयोग र समन्वय आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटा र चन्द्रबहादुर बुढा, प्रतिनिधिसभाका सदस्य डा.सूर्य पाठक, नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकाहरु मध्येबाट पूर्व जनप्रतिनिधि भीमबहादुर शेरचन र महिला नेतृ कौशिला घर्ति मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यदलका सदस्य फमलाल निउरेको अध्यक्षता, सदस्य ज्ञामनाथ गैरेको स्वागत र सदस्य लालबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस परित्याग गरी ४ सय २९ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । साविक काडेवास गाविसका पूर्व उपाध्यक्ष तथा राजमो गलकोट नगरपालिका वडा नं. ८ का अध्यक्ष भीमबहादुर शेरचन, राजमो जिल्ला सदस्य तथा गलकोट नगर उपाध्यक्ष महिला नेतृ कौशिला घर्ति मगर, राजमो जिल्ला सदस्य तथा राजमो समर्थित शिक्षक संगठनका जिल्ला सदस्य नमकुमारी सापकोटा, पूर्व जनप्रतिनिधि गुञ्जबहादुर केसी, शशिधर भट्टराई लगायत ४ सय २९ जना नवप्रवेशीहरुलाई पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्यहरु मनकुमारी केसी र गोविन्द बहादुर नेपाली लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung