बागलुङको निसीखोलामा माथिबाट पहिरो खसेर घर पुरिदाँ एउटै घरका सासु–बुहारीको ज्यान गएको छ । घटनामा निसीखोला गाउँपालिका–३ का ६५ बर्षकी धनकुमारी शाही र उनकी बुहारी ३५ बर्षकी डल्ली शाहीको ज्यान गएको हो ।
वुधबार विहान पहिरोमा पुरिएर वेपत्ता भएका उनीहरुको शव दिउसोमात्र निकालिएको ईलाका प्रहरी कार्यालय झिवाखालाले जनाएको छ ।
बिहानैदेखि स्थानीयवासी र प्रहरी उनीहरुको उद्धारमा खटिएका थिए । दिउसो तीन बजे घटनास्थलबाट दुबै जनाको शव निकालिएको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख रिनबहादुर बैदवारले जानकारी दिए ।
घटनाको स्थालगत जानकारी लिन तथा उद्दार तथा राहत कार्यलाई प्रभावकारी बनाउनको लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली घटना स्थलतर्फ लागेको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल र जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मी घटनास्थलतर्फ गएका हुन् ।



















































































































































































































