१२ कार्तिक २०८३, बुधबार

 

योगाश्रमलाई चार लाख जुट्यो

बेनीमा योगाश्रम भवन निर्माणका लागि तिहार पर्वको अवसरमा देउसीभैलो खेलेर करिब चार लाख रुपैयाँ जुटाइएको छ । नविन आनन्द योग केन्द्रले तिहारमा योगाश्रम भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमको आम्दानी खर्च विवरण मंगलबार सार्वजनिक गरेको हो ।

बेनी, दरवाङ, बिम, तातोपानी, गलेश्वर लगायतका स्थानमा खेलीएको देउसीभैलोबाट सात लाख ३२ हजार ४६१ रुपैयाँ आम्दानी, तीन लाख ४३ हजार ५२५ रुपैया खर्च र तीन लाख ८८ हजार ९५९ रुपैयाँ बचत भएको केन्द्रका हरिप्रसाद पौडेलले जानकारी दिए ।

पोशाक खरिदमा २७ हजार ४४५, पोशाक भाडामा साठी हजार, ध्वनीका उपकरण भाडामा चालीस हजार, कलाकार पारिश्रमीकमा ७१ हजार, गाडीभाडामा ३४ हजार २५०, खाजा खानामा ९१ हजार २४०, स्टेशनरी तथा मसलन्दमा १६ हजार १०० र सञ्चारमा तीन हजार ५०० रुपैया खर्च भएको केन्द्रले जनाएको छ ।

भवनको अभावमा योग अभ्यास र प्रशिक्षण प्रभावित भएपछि केन्द्रले पहल थालेको केन्द्रका सुरेन्द्रराज शर्माले बताए । भवन निर्माणका लागि बेनीको क्याम्पस चोक निवासी ब्यवसायी नारायण र उनकी श्रीमती अम्बिका श्रेष्ठले गत वर्ष तीन आना जग्गा निशूल्क उपलब्ध गराएका थिए ।

यसैगरी उहाँहरुबाट तीन लाख ७५ हजार रुपैयाँमा थप तीन आना जग्गा खरिद गरिएको छ । केन्द्रसँग हाल म्याग्दी बहुमुखी क्याम्पस भन्दा केही माथि छ आना जग्गा उपलब्ध छ । भवन निर्माणका लागि विभिन्न निकाय र दाताहरुमा सहयोगको अपिल गरिएको योग प्रशिक्षक नविन जुक्जालीले बताए ।

भवनको अभावमा हाल विभिन्न संघ संस्थाको कार्यालय, सिनेमा घर र होटलमा योग अभ्यास तथा प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको छ । योगप्रती बजारबासीको आकर्षण बढेपनि पूर्वाधारको अभाव चुनौती बनेको छ । शारीरिक र मानशिक रुपमा स्वस्थ्य भइने, विभिन्न रोगबाट बच्न सकिने भएकाले बजारबासी योगप्रति आकर्षित भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung