ढोरपाटन नगरपालिका–९ नवि ढोरमा आइतबार विहान भएको आगलागीको घटनाको ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले स्थलगत अवलोकन गरेका छन् । घटनाको वास्तविक अवस्थाबारे जानकारी लिई तत्काल राहत उपलब्ध गराउन स्थलगत अवलोकन गरेको नगरप्रमुख नेपालीले बताएका छन् ।
उनले घटनास्थलबाटै पीडित ४८ घर परिवारलाई प्रति परिवार एकएक लाख रुपैयाँ ढोरपाटन नगरपालिकाको तर्फदेखि राहत उपलब्ध गराउने घोषणा गरे । नेपालीले घर निर्माणपछि छानो छाउन आफ्नो व्याक्तिगत तर्फदेखि जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आगलागिबाट २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
नवीमा आइतबार विहान २ बजेतिर एक घरबाट सल्किएको आगो फैलिएर गाउँनै सखाप भएको छ । नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट खटिएको टोलीले विहान ८ बजेतिर आगो नियन्त्रणमा लिएको थियो । सेनाको सक्रियताले आगो अरु घर तथा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा फैलिन पाएन । आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान भईरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जानकारी दिएका छन् ।



















































































































































































































