१ जेष्ठ २०८१, मंगलवार

 

टेडविमिन: औसत हुनु किन ठीक हो?

स्कुलमा औसत अङ्क ल्याउने र कार्यालयमा कहिल्यै पनि अब्बल देखिन नसकेका मध्यमस्तरका मानिसहरूको अमेरिकाको क्यालिफोर्नियास्थित पाम स्प्रिङ्समा भएको टेड विमिन सम्मेलनमा आवाज उठाइएको थियो।

सामाजिक अभियन्ता डेनियल मस ली त्यस्ता औसत मानिसहरूका लागि बोलिदिन मञ्चमा पुगिन् र ती मध्यमस्तरका मानिसले पनि अझ धेरै योगदान कसरी गर्न सक्छन् भन्ने बाटो देखाइदिन भनिन्।

“अब्बलहरू याद भइहाल्छन् र एकदमै नजान्नेहरूले थप सहायता पाउँछन् तर संख्यामा धेरै हुने मध्यमस्तरका बालबालिकाबारे कसैले पनि सोच्दैन।”

त्यस्ता मानिसहरूले स्कुल र कार्यालयमा मूल्यवान योगदान पुर्‍याउन सक्छन् तर तिनीहरूलाई बेवास्ता गरिन्छ।

क्षमता
मस ली ले भनिन्, “उनीहरूको क्षमता तिखार्नका लागि हामीले विभिन्न उपायहरू अपनाउनुपर्छ।”

टेड विमिन नामक सम्मेलन क्यालिफोर्नियाको पाम स्प्रिङ्समा नोभेम्बर २८ देखि ३० तारिखसम्म भएको थियो जहाँ परिवर्तनका संवाहक हुन खोज्ने विभिन्न क्षेत्रका महिला र किशोरीहरूले भाग लिएका थिए।

उनले टेडविमिनमा भाग लिन आएकाहरूलाई आफू स्वयं पनि एउटा औसत विद्यार्थी रहेको बताइन्।

“म कलेज पढ्दा एकजना विज्ञान शिक्षककोमा पुगेँ र उनले म कुन कलेजमा पढेको भनेर विश्वासै गर्न सकेनन्। त्यस बेलासम्म मैले आफू कत्तिको ‌औसत विद्यार्थी थिएँ भन्ने बुझ्नै सकेकी थिइनँ।”

उनको औसत अङ्कका कारण आमाले उनलाई बाध्य भएर अतिरिक्त क्रियाकलापमा लगाउन खोजिन्।

“मलाई कुन काम मन पर्छ भन्ने थाहा पाउन उहाँले मलाई कार्यक्रमहरूमा पठाउनुभयो।”

क्षमता स्वीकार्न सुझाव

त्यसले मसलाई उनको रुचि लेखनमा रहेछ भन्ने थाहा भयो र उनी विश्वास गर्छिन् मध्यमस्तरका विद्यार्थीहरूमा केही हुन्छ जसले उनीहरूलाई उम्दा बनाउँछ।

उनले भनिन्, “मध्यभाग कहिल्यै पनि स्थायी ठाउँ हुनसक्दैन।”

तर अन्यले भने विमति जनाउँछन् र औसत मानिसहरूले उम्दा काम गर्न सक्दैनन् भनेर स्वीकार्नुपर्ने ठान्छन्।

“धेरै मनोवैज्ञानिक विशेषताहरू समान रुपमा बाँडिएका हुन्छन्। त्यो भनेको जनसंख्याको ठूलो हिस्सामा औसत बौद्धिकता र नेतृत्व क्षमता हुन्छ,” लण्डनको युनिभर्सिटी कलेजमा व्यापार मनोविज्ञान पढाउने एकजना प्राध्यापकले बताए।

उनलाई लाग्छ कि हालैका वर्षहरूमा उत्कृष्ट हुन सामाजिक दबाब बढ्दो छ।

उनले भने, “सन् १९५० को दशकमा १२ प्रतिशत कलेजका विद्यार्थीहरूले आफू महत्त्वपूर्ण मानिस हो भनी व्याख्या गर्थे भने अहिले त्यो प्रतिशत बढेर ८० पुगेको छ।”

सबैजना उस्तै स्तरमा उत्कृष्ट हुन सक्दैनन् भनी मानिसहरूले स्वीकार्न सके उनीहरू खुसी हुने उनी ठान्छन्।

प्रतिक्रिया दिनुहोस्