१५ बैशाख २०८१, शनिबार

 

टाेकियाेमा गलकोटका जनप्रतिनिधि, पत्रकार र खेलाडी सम्मानित

जापान भ्रमणमा रहेका जनप्रतिनिधि, पत्रकार र खेलाडीलाई गलकोट स्पोर्ट्स क्लब टोकियोले सम्मान गरेको छ । टोकियोमा आयोजित अन्तरक्रिया तथा भेटघाटमा गलकोट नगरपालिका–२ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी (हेमन्त), नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्षद तथा घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश र उपाध्यक्ष तथा मोडल जीवन साहनीलाई दोसल्ला पहिर्‍याई सम्मानपत्र प्रदान गरिएको उनले क्लबले जनाएको छ ।

क्लबले गलकोट क्षेत्रको विकास र समृद्धिमा जनप्रतिनिधिले खेलेको भूमिका र समृद्ध गलकोट निर्माणमा थप हौसला प्रदान गर्न वडाध्यक्ष भण्डारी, सामाजिक उत्तरदायित्वसहितको पत्रकारितामार्फत गलकोटको समृद्धि र विकासमा सञ्चारमार्फत पुर्‍याएको योगदानको प्रशंसा गर्दै पत्रकार थापा र खेलकुदको विकास संरक्षणमा भूमिका खेलेको भन्दै पूर्वखेलाडी साहनीलाई सम्मान गरेको हो ।

कार्यक्रममा गलकोट नगरपालिका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जापान समृद्ध हुनुमा जनताको इमानदारी, देशको नीतिनियम कानुनको सही ढंगबाट पालना गर्नु र कठोर मेहनत र समयको महत्त्व बुझेर काम गर्नु कारण रहेको बताए । उनले जापानी नागरिकका राम्रा पक्ष अनुकरण गर्दै कार्यान्वयन गर्न सबै आआफ्नो स्थानबाट लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाले गरेका गतिविधिबारे सल्लाहकार रामकृष्ण बम मल्लले जानकारी गराए । त्यस्तै गलकोटको खेलकुदको विकास, विकास र समृद्धिका विषयमा अन्तरक्रियासमेत गरिएको थियो ।
सन् २०१५ मा बागलुङको गलकोटबाट रोजगारीको सिलसिलामा जापानमा रहेका युवाको भेलाले उक्त क्लब स्थापना गरेको थियो । क्लबले गलकोट क्षेत्रमा समय–समयमा आर्थिक सहयोगसमेत गर्दै आइरहेको छ । कार्यक्रम गलकोट स्पोर्ट्स क्लब टोकियोका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता, उपाध्यक्ष राजु बस्नेतको स्वागत मन्तव्य र सचिव हिमाल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्