१२ कार्तिक २०८३, बुधबार

 

पर्वतमा अपाङ्गता भएका व्यक्तिहरुले परिचयपत्रनै सहजरुपमा नपाउने गरेको खुलासा

शिला पाण्डे, पर्वत ।
२७ औं अन्ताराष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।‘अपांगता भएका ब्यक्तिहरुको शशक्तिकरण तथा समावेशी र समानताको सुनिश्चिता’ भन्ने अन्तराष्ट्रिय नारा र ‘मलाई समावेश गर, गणना गर’ भन्ने राष्ट्रिय नारा सहित २७ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस देशभरी मनाइएको हो । ३ डिसेम्वर मनाइने यो कार्यक्रम पर्वतमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

कुश्मा नगरपालिका उपप्रमुख सीता कुमारी काफ्ले लामिछानेले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागी स्थानीय सरकारसँग समन्वय गरेर अधिकार दिलाउन आफू लागि पर्ने बताइन । उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि आफू पनि लड्ने बताइन ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्य, गैसस महासंघ अध्यक्ष शिव प्रसाद शर्मा रेग्मी, लोकतान्त्रिक गैसस अध्यक्ष गणेशबहादुर क्षेत्री, कुश्मा ७ का वडा अध्यक्ष सुवासकुमार शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा कुश्मा नगरपालिकाकी महिला विकास अधिकृत दिलकुमारी शर्माले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकार आएपछि परीचयपत्र वितरणमा समस्या देखिएको, लक्षीत वर्गलाई विनियोजन रकम सम्बन्धित क्षेत्रमा नपुगेको, सरकारी तथा सार्वजनिक भवन अपाङ्गता मैत्री नभएको गुनासो गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थय र रोजगारमा क्षमताका आधारमा समावेश गर्नुपर्ने जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुले माग गरेका छन् ।


अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष किशोर मनष्वीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हरिदत्त शर्मा र संचालन सचिव जमुना आचार्यले गरेका थिए ।

पर्वत जिल्लामा झण्डै २९ सयको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरु रहेको अपाङ्ग उत्थान समाजले जनाएको छ । सरकारले पछिल्लो समय अपाङ्गता भएका व्यक्तिहरुलाई दिइने परीचय पत्रमा १० वटा वर्गीकरण गरेका कारण पुन अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क लिनुपर्ने आवश्यकता रहेको अपाङ्ग उत्थान समाजका अध्यक्ष मनष्वीले बताए ।


नेपालको संविधान र मौलिक हक अन्तरगत अपांगता भएका नागरिकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सवै निकायमा सहभागिता गराउनुपर्ने व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेश सरकारले अपांगता भएका ब्यक्तिका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा, सीप विकास र क्षमता अनुसारको स्वालम्बनमा आधारित रोजगारी ब्यवस्था मिलाईने, अपांगमैत्री सूचना सम्प्रेषणको ब्यवस्था लागु गरिने, प्रदेशमा निर्माण हुने अस्पताल, शिक्षणसंस्था र सवै किसिमका पूर्वाधारहरु अपांगमैत्री बनाईने जनाएको छ । राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा शुभकामना सन्देश जारी गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहसंग पनि समन्वय गरिने र त्यसका लागि चालु आर्थिक बर्षबाटै कार्यक्रमको सुरुवता गरिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung