दक्षिणी भारत र उत्तरी चिन जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी करिडोरलाई १० मिटरको बनाइने भएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको कालिगण्डकी करिडोरअन्र्तगत गुल्मी खण्डबाट सुरु भएको १० मिटर चौडा गर्ने काम बागलुङ खण्डबाट पनि हुने जनाइएको हो ।
कालिगण्डकी करिडोरको गुल्मी र बागलुङ खण्डको अवलोकन गर्न बागलुङ आएको टोलीले बागलुङका सांसद डाक्टर सूर्य पाठकसँग अन्र्तक्रिया गरी बागलुङ खण्डमा भइरहेको प्रगतिका बारेमा जानकारी गराएको थियो । अन्तरक्रियामा सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठ, भौतिक योजना मन्त्रालय, योजना शाखाका सहसचिव राजेन्द्र शर्मा, रक्षा मन्त्रालयका सहसचिव भरत गौतम लगायतले सडक निर्माणमा भइरहेको प्रगतिका बारेमा आफ्ना धारणा राखेका थिए ।
सडक विभागका महानिर्देशक रविन्द्र श्रेष्ठले नेपाली सेनाले कालिगण्डकी करिडोरको ट्रयाक खोल्ने काम सम्पन्न भइसकाले अब सडक विस्तारका लागि योजना बनाएर अगाडि बढ्ने बताए । उनले सडकको पुरै ट्रयाक खुलिसकेको र विभिन्न ठाउँमा सडक चौडा गर्ने काम समेत भइरहेकाले अब बाँकी रहेको क्षेत्रमा सडक चौडा गरी पिच गर्ने प्रक्रिया अगाडि बढाइने बताए ।
बागलुङका सांसद डाक्टर सूर्य पाठकले कालिगण्डकी करिडोर नेपालको लाइफलाइन बन्न सक्ने भन्दै समयमै सम्पन्न गर्न आग्रह गरे । दक्षिण सिमादेखि उत्तरी सिमासम्म पुगेर करिडोरको अवलोकन गरेको भन्दै सांसद पाठकले मुस्ताङ क्षेत्रमा करिडोर निर्माणमा भइरहेको प्रगतिले करिडोर छिट्टै खुल्नेमा विश्वास व्यक्त गरे । ‘म केही समय अगाडि उत्तरी सिमासम्म पुगेर आएको छु, सिमामा चिनियाँ पक्षले कोरल्ला नाका खोल्नका लागि भौतिक संरचनाहरु निर्माण गरिसकेकाले सडक निर्माणलाई थप गति दिन आवश्यक छ ।’ पाठकले भने ।
पाठकले करिडोरको ट्रयाक खुलेपछि नियमित सवारी साधनहरु सञ्चालन भइरहेकाले सडक चौडाइको काम छिटो सक्नका लागि बागलुङको मालढुङ्गाबाट सडक चौडा गर्ने काम सुरु गर्न आग्रह गरे । सरकारी तवरबाट करिडोर निर्माणमा बजेट अभाव हुन नदिने भन्दै पाठकले सडक चौडासँगै मालढुङ्गादेखि बेनीसम्मको खण्डलाई बागलुङपट्टीबाट लैजाँदा सहज र थोरै क्षतीमा सडक निर्माण गर्न सकिने बताए ।



















































































































































































































