१२ कार्तिक २०८३, बुधबार

 

बागलुङको लेखानीमा घर जल्दा एकको मृत्यु: यस्तो रहेछ घटनाको प्रकृति

बागलुङको लेखानी कादेसमा आगलागीमा परि एक पुरुषको ज्यान गएको छ । घटनामा काठेखोला–८ लेखानी कादसका ३८ वर्षका दिपबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने थाहा हुन नसकेको स्थानीय बेल जिसीले जानकारी दिए । घटना आईतबार बेलुका चार बजेको हो । क्षेत्रीको खरको घर समेत पुरै जलेको छ ।

त्यहाँबाट फैलिएको आगोले छिमेकी निमबहादुर पुन र धनबहादुर पुनको घरमा समेत क्षेती पुगेको छ । मृतक क्षेत्रीका तीन छोरी छन् । श्रीमतीले क्षेत्रीलाई छोडि अर्कैसँग बिहे गरेकी बताईएको छ । जेठी छोरीको विहे भईसकेको छ । १४ वर्षीय माईली छोरी कहिले क्षेत्रीसँगै त कहिले अंकलको घरमा बस्दै आएकी थिईन् । उनले कक्षा ८ मा पढ्दै छिन् । कान्छी छोरी भने आमाले सँगै लिएर गएको स्थानीयले बताएका छन् । आर्थिक अवस्था कमजोर रहेका क्षेत्री अपाङ्गता भएका व्यक्ति हुन् । उनको खुट्टा कमजोर थियो ।

कसरी भयो घटना
घटना हुँदा क्षेत्री एक्लै घरमा थिए । उनको घरको तल्लो तलाको एक भागमा गाईबस्तु बाँध्ने र अर्को भागमा खाना पकाउने सुत्ने ठाउँ बनाईएको थियो । घटना हुँदा छोरी पनि घरमा थिईनन् ।

बस्ती एकान्तमा छ । त्यहाँ तीन घर मात्र छन् । आगलागी भएको क्षेत्रीको घरको माथिल्लो तलामा खर तथा नल पनि थियो । आगो एक्कासी फैलिएको देखेपछि गाउँलेहरु निभाउनतर्फ लागे । गाउँलेहरु पुग्दा क्षेत्रीको घरको माथिल्लो तला पुरै जलेको थियो । आगो निमबहादुर र धनबहादुरको घरतिर फैलिसकेको थियो । ‘उनको (क्षेत्री) घरको माथिल्लो तला जलिसकेको थियो ।

हामी उनको घरसँगै अरु दुई घरमा भएका सामान र गाईबस्तु निकाल्न लागियो,’ स्थानीय बेल जिसीले भने, ‘घरभित्र मान्छे थियो होला भन्ने लागेन । बाहिर गएको होला भन्ने थियो । तर आगो निभाउँदै जाँदा त दन्केको आगोमा जलेर उनको मृत्यु भईसको रहेछ । हामीले त उनलाई उद्धार गर्न समेत पाएनौँ ।’

कसरी सल्कियो आगो ?
जिसीका अनुसार घरको तल्लो तलाबाट आगो सल्किएको जस्तो देखिन्न । मृतक क्षेत्रीले रक्सी–चुरोट खान्थे । आगो लाग्दा उनी माथिल्लो तलामै भएको भएर उनी त्यहीँ जले । अरु दुई घरमा उनकै घरबाट आगो सल्किएको हो । ‘आगो कसरी लाग्यो भन्ने कुरा यकिन गर्न त हामीले सकेनौँ,’ जिसीले भने, ‘सयद उनले चुरोट खान बालेको आगो फैलिएर सल्किएको हुनसक्छ वा कतैबाट आगोको फिलिङ्गो आएर सल्किएको हुनसक्ला ।’
यसो भन्छ प्रहरी
घटनास्थल पुगेका बिहुँ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गजेन्द्र थापाका अनुसार घटनाको प्रकृति हेर्दा क्षेत्री सुतेकै ठाउँबाट आगो सल्किएको जस्तो देखिन्छ । थापा भन्न्, ‘उनी सुतेको ठाउँमा खर, नल र पराल पनि भएकाले आगो एक्कासी दन्किएको देखिन्छ । त्यसैले उनले चुरोट खान सल्काएको आगो फैलिएर घटना भएको हुनसक्छ । स्थानीयले पनि त्यहाँ अरु कसैले आगो लगाईदिएको होईन भन्ने नै आएको छ ।’

४ लाख भन्दा बढीको भौतिक क्षेती
घटनामा ४ लाख भन्दा बढीकोा भौतिक क्षेती भएको प्रहरीले जनाएको छ । तीनवटा घरमा सल्किएको आगोले क्षेत्रीको घरमा १ लाख भन्दा बढी र अरु दुई घरमा ३ लाख भन्दा बढीको क्षेती भएको प्रहरीको मुचुल्का छ । फोटो: बेल जिसी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung