पर्वत । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा सुदामा र राधाकृष्णको मन्दिर निर्माण कार्य शुरु भएको छ ।
पर्वतको कुस्मा नगरपालिका १४ आर्थर काहुले स्थित पञ्चासे भजनकृतन मण्डलीले ५० लाख रुपैयाको लागतमा मन्दिर निर्माण गर्न लागेको हुन् ।
कृष्णका भक्त सुदामासहित राधाकृष्णको मन्दिर एसियामा नै दोस्रो भएको भागवतवाचक पण्डित पशुपति उपाध्यायले बताए ।
भारतको उज्जैन क्षेत्रमा मात्रै राधाकृष्ण र उनका भक्त सुदामाको मन्दिर निर्माण भएको छ । भक्त नभए सम्म भगवानको अर्थ नभएका कारण कृष्णभक्त सुदामाको समेत मन्दिर एकै ठाउँमा बनाई धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ । मन्दिरमा गौमुखी धारा, सुदामा स्नान कुण्ड सहितका संरचना समेत निर्माण गरिनेछ ।
पञ्चासे सम्म पर्यटक र दर्शनार्थी एक पटक आउनैपर्ने धार्मिक गन्तब्यको रुपमा सुदामा सहित राधाकृष्णको मन्दिर बनाउन लागिएको पञ्चासे भजनकृतन मण्डलीका अध्यक्ष ढाकाराम उपाध्यायले बताए ।
भविश्यमा राधाकृष्ण र सुदामाको दर्शन गर्न भारतबाट समेत ठुलो संख्यामा हिन्दु धर्मालम्बी भित्र्याउने उद्देश्य राखेर मन्दिर निर्माण शुरु गरिएको उनकोे भनाई छ ।
मन्दिरमा आर्थिक स्रोत जुटाउँदै दर्शनार्थीका लागि थप संरचना बनाउने योजना रहेको छ । पर्वत, कास्की र स्याङ्गजाको संगममा रहेको पञ्चासे यस क्षेत्रकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हो ।
यहाँ बालाचतुर्दशीमा पश्चिम नेपालकै ठुलो मेला लाग्छ । प्रसिद्ध सिद्धबारह देवताको मन्दिर रहेका कारण पनि तीन वटै जिल्ला र छिमेकी जिल्लाबाट समेत भाकल पुजा गर्न ठुलो संख्यामा दर्शनार्थी आउने गर्दछन । पर्यटनको राजधानी शहर पोखराबाट नजिकै रहेको पञ्चासे सम्म पोखराको घाटीछिना देखि केवलकार निर्माण गर्ने प्रकृया अघि बढेको छ ।
यसैबिच सुदामा राधाकृष्ण मन्दिरको कुस्मा नगरपालिकका प्रमुख रामचन्द्र जोशीले मंगलबार शिलन्यास गरे । उनले मन्दिर निर्माणले पञ्चासेको धार्मिक र पर्यटकीय महत्व बढाउँदै जाने बिश्वास ब्यक्त गर्नुभयो । कुस्मा नगरपालिका र आफुँले मन्दिर निर्माणका लागि आर्थिक स्रोत ब्यबस्थापन गर्ने प्रतिबद्धता पनि प्रमुख जोशीले ब्यक्त गरे ।



















































































































































































































