बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारीले आफ्नो ७६ औं जन्मोत्सवको अबसरमा मानवसेवा आश्रममा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
समाजसेवी राजभण्डारीले बागलुङ बजारमा रहेको मानव सेवा आश्रममा एक लाख नगद प्रदान गर्दै अक्षयकोषमार्फत मानव हितमा रकम खर्च गर्नका लागि यति ठूलो धनराशी सहयोग गरेका हुन् । यो अश्रमका लागि दाताबाटस्थापना गरिएको पहिलो अक्षयकोष हो ।
उनले मानविय सेवामा सक्रिय संस्थामा यो रकम प्रदान गरेर शुभेच्छुकबाट शुभकामना लिएर जन्मोत्सव मनाए । कार्यक्रममा राजभण्डारीले नगद एक लाख रुपैयाँ अश्रमका अध्यक्ष मनिस रायमाझीलाई प्रदान गरे । सो अवसरमा आश्रमले राजभण्डारीलाई कदर पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।
७६ वर्षिया राजभण्डारीले जीवनमा अरुको सेवा गर्नु नै सवैभन्दा ठूलो पुण्य भएको बताए । उनले मानवको मृत्यु निश्चित भएका कारण लोभ लालच नगरी सेवा गर्न सके त्यो नै धर्म हुने बताए ।
उनले मान्छे आफ्नो मात्र हित र प्रगतिमा मात्रै केन्द्रत हुँदा जाँदा मानवता नै हराउने डर भएको भन्दै मानव भएपछि मानवको सेवा गर्नु आफ्नो धर्म भएको बताए । आफूले आफ्नो प्राण रहुन्जेलसम्म समाजिक सेवामा लागि रहने बताए । सो अवसरमा उनले आफ्ना बुबा, आमा र हजुरबुबालाई सम्झिए । ‘मलाई अहिलेको अवस्थामा ल्याउन मेरो आमा, बुबा र बाजेको ठूलो देन छ,’ उनले भने, ‘समाजसेवाको प्रेरणा पनि मैले उहाँहरुबाटै पाएको हुँ ।’
मानवसेवा आश्रममा भएको रकम हस्तान्त्रण कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्वउपमेयर पद्यचन्द्र राजभण्डारी, समाजसेवी देबबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, आश्रमका अध्यक्ष मनिस रायमाझी, पत्रकार कोपिला कँडेल ,संयोजक सुमिरा लामा, मूलपानी माविका पूर्वप्रधानाध्यापक मेघराज पाण्डे, रघुनाथ राजभण्डारी लगायतले मन्तव्य राखेका थिए ।
उनीहरुले मानवसेवा जस्तो पवित्र कार्यमा राजभण्डारीद्धारा गरिएको ठूलो धनराशीको अक्षय कोष स्थापनाले मानव सेवाको कार्यलाई निरन्तर र दीगो रुपमा अघि बढाउन सहयोग पुग्ने बताए । वक्ताहरुले राजभण्डारीको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य र दीर्घजीवनको कामना गरे ।
सो अवसरमा बक्ताहरुले अक्षय कोष दाता राजभण्डारी एक बौद्धिक, सामाजिक तथा परोपकारी व्यक्तित्व भएको बताउँदै जन्मोत्सवलाई खर्चिलो र भड्कलो रुपमा बनाउने बढी प्रचन रहेको समाजमा राजभण्डारीले गरेको रचनात्म कार्य उदाहरणीय रहेको प्रतिक्रिया दिए । कार्यक्रमको अध्यक्षता आश्रमका अध्यक्ष मनिस रायमाझी र सञ्चालन राजेशचन्द्र राजभण्डारीले गरेका थिए ।



















































































































































































































