पर्वतको मोदी गाउँपालिका–२ देउपुरका ७३ वर्षीय दिलबहादुर सार्कीको हत्यामा संलग्न तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० क्लिउका एकै घरका तीन जना छन् । क्लिउका ३१ वर्षीय बुद्धीमान सार्की निजको बुबा ६० वर्षीय निमबहादुर सार्की र माईलो बुवा ७२ वर्षीय लालसिँह सार्की रहेका छन् ।
पक्राउ परेका तिन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मृतक दिलबहादुर लगायत चारै जना बसेर पुस ८ गते मदिरा सेवन गरेको र मृतकले अपशव्द बोलेपछि विवाद बढ्दा उनीहरुले संयुक्त रुपमा कुटपिट गरि दिलबहादुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा पत्ता लागेको कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।
दिलबहादुरको शव पुस १४ गते अन्नपूर्ण गाउँपालिका–१० खुम्व्रुखु स्थित मोदी खोलामा फेला परेको थियो ।
घटनास्थलमा उपस्थित गाउँलेहरुमध्ये बुद्धिमानको गतिबिधि शंकास्पद देखिएको र निजलाई घटनास्थलबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई सोधपुछ गर्दा संयुक्त रुपमा कुटपिट गरि मारेको र त्यसपछि रातको समयमा झोलुङ्गे पुलबाट मोदी खोलामा फालेको बताएको रानाको भनाई छ ।



















































































































































































































