बागलुङ । बागलुङमा फरक क्षमता भएका व्यक्ति र अपाङ्गता क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरु सम्मानित भएका छन् । प्रविण खड्का स्मृति सेवा कोषबाट जनता धन माविमा अध्ययनरत दृष्टिविहिन डिनाकुमारी पाण्डे, विशेष बालकक्षामा अध्ययनरत कमल थापा, धौलागिरी बहिरा विद्यालयका विनिता डिसी, धौलागिरी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विष्णुप्रसाद पौडेल रु ५ हजार नगद र प्रशंसापत्रले सम्मानित भएका हुन् ।
त्यसैगरी अपाङ्गता भएर पनि अपाङ्गता क्षेत्रमा योगदान पु¥याएको भन्दै पर्वतका जगन्नाथ शर्मा रु ५ हजार नगदसहित प्रशासापत्रले सम्मानित भएका हुन् ।

बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको आथित्यतामा भएको कार्यक्रममा बोल्दै उनले संस्थाले गरेको कार्यको प्रशंसा गरे । खरेलले समाजमा भएका फरक क्षमताका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई समाजमा स्थापित गर्नको लागि संस्थाले खेलेको भूमिका सराहनिय रहेको बताए ।

प्रजिअ खरेलले प्रविण खड्का स्मृति सेवा कोषको स्थापना गरेर खड्का परिवारले समाजमा अतुलनीय कार्य गरेको बताए । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, देवबहादुर श्रेष्ठ, महिला हित तथा बचत ऋण सहकारी संस्थाकी अध्यक्ष लीला खड्का, पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, रेडक्रस बागलुङ शाखाका उपसभापति राजेन्द्रप्रसाद आचार्य,कृष्णगण्डकी क्याम्पस संचालन समितिका अध्यक्ष कमलबहादुर जिसी लगायतले आआफ्नो धारणा राखेका थिए ।
प्रविण खड्का स्मृति सेवा कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका सदस्य विश्वनाथ रेग्मीले र संचालन सचिव युक्तजंग भण्डारीले गरेका थिए ।





फोटो : महेन्द्र केसी



















































































































































































































