५ जेष्ठ २०८१, शनिबार

 

केन्यामा भीषण आक्रमण, पन्ध्र जनाको मृत्यु, दर्जनौं घाइते, राजधानीको होटेल नै बन्दुकधारीको कब्जामा

नैरोबी, माघ २ गते । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उक्त आक्रमण त्यहाँको सुविधासम्पन्न पाँचतारे होटल डुस्टिडी-२ मा भएको हो । उक्त समय त्यहाँ थुप्रै स्वदेशी तथा विदेशी पाहुनाहरू रहेको बताइएको छ ।

एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् ।

विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र उसले आफैँलाई विस्फोटले उडाइदिएको थियो । त्यसको लगत्तै पछि बन्दुकधारीहरुले गोली प्रहार गर्न शुरु गरेका बताइएको छ ।

होटेल निकै समय आक्रमणकारीहरूको कब्जामा रहेको बताइएको छ ।

आक्रमणमा विदेशीसहित १५ व्यक्तिको मृत्यु भएको एक प्रहरीले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । मारिएका व्यक्तिमध्ये एक अमेरिकी नागरिक रहेका विदेश विभागका अधिकारीले जानकारी दिएका छन् ।

राष्ट्रपतिको दाबी: सिद्धिए आक्रमणकारी 

होटेल परिसरमा फसेका दर्जनौं व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३:३० बजे भाग्न सफल भएको बताइएको छ । के कति व्यक्ति होटेलमा छन् भन्ने प्रष्ट भइसकेको छैन ।

त्यहाँका राष्ट्रपति उहुरु केन्याताले भने उक्त होटेल आक्रमणकारीहरूको कब्जाबाट मुक्त गराइएको र घटनामा संलग्न सबैलाई सुरक्षा सेनाले सिध्याइदिएको बताएका छन् ।

यस आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ ।

सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ को अप्रिल २ मा पूर्वी केन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्