१ जेष्ठ २०८१, मंगलवार

 

जमाना युट्युवको, मालामाल युट्युबर

केही महिनाअघि बेलायती युवक डेलियल रोबर्ट मिडलटन सन् २०१७ मा विश्वमै सबैभन्दा धेरै पैसा कमाउने युट्युबर भएको समाचार सार्वजनिक भयो। यो समाचारले अन्तर्राष्ट्रिय मिडियामा राम्रै चर्चा पनि पायो। फोब्र्स म्यागेजिनले प्रकाशित गरेको सूचीमा २७ वर्षीय यी युवक धेरै पैसा कमाउनेमध्ये पहिलो नम्बरमा परे। उनले सन् २०१७ मा १६.५ मिलियम डलर अर्थात् एक अर्ब ५० करोड रुपैयाँभन्दा धेरै पैसा कमाए।

सन् २०१० मा पोकेमन खेल्नेहरुलाई लक्षित गरी युट्युव च्यानल खोलेका मिडलटनको युट्युव च्यानलमा अहिले २ कारोडभन्दा बढी सस्क्राइब पुगिसकेको छ। अर्थात्, विभिन्न खेलसम्बन्धी जानकारी दिएरै उनले मासिक करोडौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।

मिडलटन त एक प्रतिनिधि पात्र हुन्। युट्युव च्यानललाई यसरी आफ्नो रोजीरोटीको माध्यममात्र होइन, विलासी जीवनयापनका लागि आवश्यकता पूर्ती गर्ने स्रोतको रुपमा धेरैले प्रयोग गर्दै आएका छन्।

यो ट्रेन्ड पछिल्लो समय नेपालमा पनि भित्रिएको छ। विभिन्न नाममा खोलिएका डिजिटल प्लेट फर्म युट्युब च्यानलबाट नेपालीले मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन्।

उहिले क्यासेट, अहिले युट्युव
कुनै समय यस्तो थियो, आफूले निकालेका गीत कति हिट भयो भनेर मुल्यांकन गर्न क्यासेटको बिक्रीलाई आधार बनाइन्थ्यो। तर, अहिले युट्युवमा आएको ‘भ्युज’ लाई आधार मानेर गीतको मुल्यांकन गरिन्छ।

श्रव्य क्यासेट, सिडी, सीआरबीटी हुँदै संगीतको बजार युट्युवमा केन्द्रित भएको छ। केही समयअघि ‘सालको पातको टपरी हुनी’ गीत दुई करोड पटक हेरिएको भन्दै मिडिया तथा सामाजिक सञ्जालमा त्यसले खुबै चर्चा पायो। यसको अर्थ सो म्युजिक भिडियो हिट भयो भन्न खोजिएको हो।

संगीत मात्र होइन, फिल्म, व्यक्तिगत ब्लग, अन्तर्वार्ता, कुनै विषयमा केन्द्रित रहेर सूचना तथा जानकारी सम्प्रेषण आदिका हिसावले पनि युट्युवको प्रयोग दिनप्रतिदिन तीब्ररुपमा बढिरहेको छ।

यससँगै उछृङ्खल शीर्षक राखेर ‘भ्यूअर्स’ बढाउने गलत प्रचलन पनि हावी हुँदै गएको छ।संस्थागत तथा व्यक्तिगत नाममा खोलिएका युट्युव च्यानलको एकमात्र लक्ष्य जसरी हुन्छ, धेरैभन्दा धेरै पैसा कमाउने भन्ने भएका कारण युट्युवप्रति जनमानसमा नकारात्मक प्रभावसमेत छ।

कैयौँ सेलिब्रेटीहरु अनेकथरि शीर्षक राखेर आफ्ना बारेमा भिडियो बन्दा तनाबमा समेत परेका छन्। अर्कोतर्फ टेलिभिजनहरुले हरेकजसो कार्यक्रमहरु प्रसारण भएपछि युट्युव च्यानलमार्फत् सार्वजनिक गर्न थालेका छन्।

पछिल्लो समय चर्चामा रहेका रियालिटी शो ‘नेपाल आइडल’, ‘भ्वाईस अफ नेपाल’ ले युट्युवमार्फत राम्रै आम्दानी गरेको देखिन्छ।

संस्थागत रुपमा चलेका युट्युव च्यानलले कलाकार वा सम्बन्धित पक्षलाई फिल्म वा म्युजिक भिडियोमा भएको भ्युजको आधारमा रोयल्टी दिनुपर्ने प्रचलन छ। तर, उनीहरुलाई कति पैसा आयो भन्ने जानकारी नहुने र सम्झौताअनुसार पैसा नपाउने समस्या पनि त्यत्तिकै छ। त्यही कारण कतिपय कलाकारले पछिल्लो समय आफै युट्युव च्यानल खोलेर आफ्ना भिडियो राख्न थालेका छन्।

यसको एक उदाहरण हुन्, गायक प्रमोद खरेल। उनको युट्युव च्यानल ९२ हजारले सस्क्राइब गरेका छन्।

गायिका भूमिका गिरिले हालसालै खोलेको युट्युव च्यानलमा ३७ हजार सस्क्राइब पुगिसकेको छ। उनको आफ्नै च्यानलबाट ‘विकृति’ बोलको गीतले ८ लाख ५० हजार भ्युज पाइसकेको छ। उनले आफ्नो च्यानलबाट राम्रै आम्दानी गरिरहेकी छन्, रोयल्टीमार्फत प्राप्त हुनेभन्दा धेरै।

अहिले आफ्नै च्यानलबाट राम्रो आम्दानी हुँदा पहिले आफू ठगिएको चाल पाएको भूमिका बताउँछिन्। दिनप्रतिदिन सस्क्राइबर बढेको र आफ्नो गीतको पैसा सिधै आफैलाई आइरहेकोमा भूमिका खुसी छिन्। उनी अहिले आफ्ना गीत प्राय आफ्नै च्यानलबाट अपलोड गर्छिन्।

पछिल्लो समय ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। संगीतकार वसन्त थापाको व्यक्तिगत युट्युव च्यानलबाट अपलोड गरिएको उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार पुगेको छ।

सोवापत पनि उनले राम्रै आम्दानी गरेका छन्। युट्युवको तथ्याङ्क राख्ने सोसलब्लेड साइटमा उनी केही समय नेपालका च्यानलमध्ये ‘टप १०’ मासमेत पर्नपनि सफल भए।

कसरी हुन्छ आम्दानी?
तीन वर्षअघि नेपालमा युट्युवको क्रेज ह्वात्तै बढ्यो। युट्युवबाट पैसा पाइन्छ भन्ने कुरा पनि त्यतिबेलैदेखि धेरैले थाहा पाउन थाले। तर, आम मानिसमा युट्युवप्रतिको क्रेज बढ्न भने केही समय लाग्यो।

फलस्वरुप पछिल्लो समय व्यक्ति, मिडिया र सम्बन्धित संस्थापिच्छे युट्युव च्यानलहरु खुल्ने क्रम बढ्यो। यही कारण पछिल्ला दुई वर्षमा सयौँ युट्युव च्यानलहरु आए। यसमध्ये केहीले आम्दानी राम्रै गरेका छन्।

२०७४ माघअघि युट्युव च्यानलमा राखिएका भिडियोमा १० हजार भ्युज पुग्नासाथ पैसा आउन सुरु हुन्थ्यो। अर्थात्, यस्ता च्यानलहरु ‘मोनिटाईजेसन’ का लागि योग्य हुन्थे। ‘मोनिटाईजेसन’ भनेको युट्युव च्यानलमा एड (विज्ञापन) आउन सुरु गर्नु हो। गुगलले आफ्नो एड राखिदिएवापत युट्युव च्यानलवाला सम्बन्धित व्यक्तिको नाममा पैसा पठाउँछ।

तर, पछिल्लो समय युट्युवले केही कडाई गरेको छ। नयाँ नियमअनुसार युट्युव मोनेटाईजेसन हुनका लागि १० हजार भ्युजसँगै १ हजार सस्क्राइब हुनु आवश्यक छ। त्यतिले मात्र पुग्दैन, पछिल्लो १२ महिनामा उक्त च्यानलबाट ४ हजार घण्टा भिडियो हेरिनुपर्ने अर्को शर्त पनि थपिएको छ। अर्थात्, दैनिक औषतमा १० घण्टा भिडियो हेरिएको हुनुपर्छ।

यसबाहेक भिडियोमा भ्युअरले दिने प्रतिक्रियाको पनि अध्ययन गरिन्छ। आपत्तिजनक भिडियो राखेर सस्क्राइब र भ्युज पढाउने च्यानललाई यस माध्यमबाट कडाई गरिन्छ। यस्ता च्यानल मोनेटाईजेसन हुने गर्दैनन्।

प्राथमिकतामा छैन नेपाल
युट्युवले नेपाललाई प्राथमिकतामा राखेको छैन। त्यसकारण नेपालबाट खोलिएका युट्युव च्यानललाई युट्युव पार्टनर प्रोग्राम उपलब्ध हुँदैन। त्यसैले, धेरैले च्यानल लोकेसन परिवर्तन गर्ने गर्छन्। तर, त्यसमा पनि युट्युवले कडाई गरेको छ।

युट्युवले नेपालमा आफ्नो कार्यालय नखोलेकाले नेपालका युट्युव च्यानलको निगरानी सिंगापुरमा रहेको आफ्नो कार्यालयबाट गर्छ। यसरी नेपालमा खोलिएका युट्युव च्यानलले पाउने पैसा नेपालभन्दा बाहिरका देशबाट आउने ‘भ्युज’ का आधारमा हो।

विशेषगरी मलेसिया, दुबई, कतार, साउदीलगायतका खाडी मुलुकमा रहेका नेपालीले युट्युव च्यानल बढी हेर्ने गरेका छन्। उनीहरुभन्दा युरोप तथा अमेरिकाबाट हेरियो भने धेरै रोयल्टी आउने गरेको ‘नेपाल आज’ का प्रबन्ध निर्देशक माधव गुरागाईं बताउँछन्।

नेपालका च्यानल र आम्दानी 
यसरी भ्यूजका आधारमा मात्र भन्दा पनि देशबाहिरबाट कतिले भिडियो हेरे भन्ने आधारमा युट्युवरलाई पैसा आउँछ। मोनिटाइज भएपछिको सम्झौताका आधारमा ‘वेस्र्टन युनियन मनी ट्रान्सफर’ बाट पैसा आउने गर्छ।

युट्युव च्यानल सञ्चालकहरु मासिक कति रुपैयाँ आम्दानी हुन्छ भनेर खुल्न चाहँदैनन्। तर, राम्रो भ्युज भएको भिडियोले राम्रै कमाई गर्ने गरेको छ। आफ्नो च्यानलको नाम उल्लेख नगर्ने शर्तमा एक युट्युवरले झन्डै डेढ लाख सस्क्राइबर भएको आफ्नो च्यानलले मासिक १ लाखदेखि ३ लाखसम्म कमाई गर्ने बताए।

उनका अनुसार ५ लाखको हाराहारीमा सस्क्राइब भएका च्यानलले मासिक ५ देखि १५ लाखसम्म कमाउने गरेका छन्।

गत वर्ष चर्चामा रहको फिल्म दुई रुपैयाँको गीत ‘कुटुमा कुटु’ ले हालसम्म ९ करोड बढी भ्युज पाएको छ। युट्युवरहरु यो गीतले झन्डै ४० लाख रुपैयाँ हाराहारीमा कमाई गरेको बताउँछन्। ८० लाखमा चलचित्रको ‘राइट्स’ लिएको ‘हाइलाइट्स नेपाल’ ले गीतको छुट्टै रोयल्टी कलाकार वा निर्माण पक्षलाई दिनु पर्दैन।

नेपालमा सबैभन्दा धेरै भ्युज भएको र कमाई गर्ने युट्युव च्यानलमा ‘म्युजिक नेपाल’ पहिलो नम्बरमा छ। विशेषगरी म्युजिक भिडियो अपलोड गर्ने यस च्यानलको ३० लाख बढी सस्क्राइब छ। हालसम्म उसले अपलोड गरेका भिडियो २ अर्ब २५ करोडभन्दा धेरैले हेरेका छन्।

युटुव च्यानलहरुले गर्ने आम्दानीको अनौपचारिक तबरमा क्रम निर्धारण गर्ने ‘सोसलब्लेड’ का अनुसार म्युजिक नेपालले मासिक कम्तिमा १३ लाखसम्म आम्दानी गरिरहेको छ। सञ्चालकहरु आम्दानीबारे बोल्न चाहँदैनन्। जानकारहरु उसको आम्दानी मासिक नियमित २० लाख हुने गरेको बताउँछन्।

त्यस्तै, दोस्रो स्थानमा ‘ओएसआर डिजिटल’ रहेको छ। यो च्यानलमा १४ लाखभन्दा बढी सस्क्राइब छ। उसको भिडियो ५७ करोडभन्दा धेरैपटक हेरिएको छ। ‘सोसलब्लेड’ का अनुसार, ओएसआरले मासिक नियमित न्यूनतम ११ लाखसम्म आम्दानी गरिरहेको छ।

यी दुवै च्यानलको अधिकतम आम्दानी १ कारोडभन्दा माथि रहेको सोसलब्लेडमा उल्लेख छ। तर, यो भ्युजका आधारमा हुने भएकाले यसका लागि भिडियो राम्रै हेरिएको मात्र नभएर धेरैभन्दा धेरै युरोप, अमेरिकाबाट हेरिएको हुनुपर्छ।

यी बाहेक धेरै भ्युज हुने तेस्रो देखि दशौँ नम्बरका च्यालनहरुमा क्रमशः बुढासुब्बा डिजिटल, मिडिया हब, हाईटिच इन्टरटेन्मेन्ट, एपी वान टेलिभिजनको रामसार मिडिया, कान्तिपुर टिभि, अनलाईन टिभि नेपाल, इन्द्रेणी डटकम रहेका छन्।
सबैगरी यी च्यानलले मासिक नियमित ३ लाखदेखि अधिकतम ५० करोडसम्म आम्दानी गर्छन्। भ्युजका आधारमा च्यानल सूचीमा तलमाथि परिरहन्छन्। ‘सोसलब्लेड’ मा ग्रेडिङका आधारमा युट्युव च्यानललाई तलमाथि राखिन्छ। यसको मुख्य आधारमा भ्युज नै हो।

सेलिब्रेटीको अन्तर्वार्ता लिएर चर्चामा रहेको ‘रमाइलो छ’ च्यानलले मासिक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने सञ्चालक उत्सव रसाईलीनिकटस्थहरु बताउँछन् ।

समग्र विश्वमा ‘कोकोमेलो’ नामक च्यानल पहिलो नम्बरमा छ। सोसलब्लेडमा प्राप्त जानकारीअनुसार ‘कोकोमेलो’ ले मासिक न्यूनतम ५ करोड ४० लाखदेखि अधिकतम ८० करोडसम्म आम्दानी गर्छ।

‘भ्युज’ धेरै हुँदैमा पैसा आउँदैन 
कतिपय अवस्थामा नेपालमा आफ्ना गीतलाई बुस्टमार्फत् भ्युज बढाउने समेत हुने गरेको छ। धेरै भ्युज बढाएर चर्चा कमाएपनि पैसा भने आर्गानिक भ्युजबाट नै आउने गर्छ।

त्यसैगरी, सामग्री कति लामो समयसम्म हेरिएको छ भन्ने आधारमा पनि पैसा आउने गर्छ। मानौँ, कुनै भिडियो १ घण्टाको छ, त्यसलाई १० मिनेटमात्र हेरिएको र १ घण्टा नै हेरिएको भ्युजको पैसा फरक–फरक हुन्छ। यस विषयमा युट्युवका आ–आफ्नै मापदण्ड छन्।

अर्को कुरा, १० मिनेटभन्दा बढी समयको भिडियो अपलोड गरेमा धेरै विज्ञापन राख्न सकिन्छ। यस्तोमा विभिन्न कम्पनीसँग सम्झौता गरेर समेत विज्ञापन राख्न सकिन्छ।

त्यसैले, नेपालमा यति भ्युज हुँदा यति नै पैसा आउँछ भन्ने कुनै निश्चित मापदण्ड युट्युवको छैन। अझ नेपालमा त देशबाहिर हेरिएको भ्युजबाट बढी पैसा आउने हुँदा यसबारे धेरै जानकारी हुँदैन। तर, समग्रमा १ लाख भ्युज भएमा १० डलरसम्म आम्दानी हुने गर्छ।

कहिलेकाहीँ २० हजार भ्युज हुँदा पनि २ सय डलर आम्दानी हुन सक्छ। कुन देशबाट भिडियो हेरिएको छ भन्ने आधारमा यसको मुल्यांकन हुने ‘फ्रन्टलाइन नेपाल’ का सञ्चालक नरेन्द्र रौले बताउँछन्। उनका अनुसार सबैभन्दा बढी पैसा कहिले अष्ट्रेलिया, त कहिले अमेरिकाबाट हेर्दा आउने गर्छ।

त्यसपछि क्रमशः क्यानडा, जर्मनी, कोरिया, सिंगापुरबाट हेरिएको भिडियोले धेरै माम्दानी गर्छ। यसरी भ्युजका आधारमा प्रत्येक महिनाको २० तारिखमा पैसा आउने गर्छ।

प्रतिक्रिया दिनुहोस्