१७ बैशाख २०८१, सोमबार

 

निसीखोलामा टेलिकमको टुजी र फोरजी सेवा विस्तार

निसीखोला । निसीखोला वडा नं ५ चिहानडाँडामा नेपाल टेलिकमले मोवाइल सेवा पु¥याएको छ । मोवाईल सेवा नहुँदा प्रभावित बनेका त्यस क्षेत्रका बासिन्दा एक साथ टुजी र फोरजी सेवा सञ्चालनमा आएसँगै मोवाईल सेवा उपभोग गर्न पाएका छन् ।

यसअघि टाढाको टावरको कमजोर सिग्नलमा भर पर्नुपर्ने, डाँडामा मात्र नेटवर्क सिग्नल आउने घरभित्र सिग्नल नआउने हुँदा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित भएका थिए ।

भ्वाईससँगै इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन ।

नेपाल टेलिकमले चिहानडाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर सेवा सुचारु गरेपछि मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रु सहित निसीखोला गाउँपालिका वडा नं ५ को निसी गाउँ, वडा नं ६ को भल्कोट, रिनुबाङ र छुनखोलाका झण्डै २ हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

शर्माले दुर्गम भेगलाई लक्षित गरी सेवा विस्तार र गुणस्तर सुधारका कामलाई तीव्र रुपमा अगाडी बढाईएको बताउनुभयो ।

दुर्गम तथा विकट गाउँमा जीएसएम मोबाइल उपलब्ध गराई नागरिकलाई सञ्चार सेवामा जोडन टेलिकमसँग आवश्यक समन्वय र टावर निर्माणमा सहयोग गरिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीले बताउनुभयो ।

भौगोलिक विकटता र विभिन्न चुनौतिका बाबजुत टावर स्थापना गरी मोवाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका बागलुङका प्रमुख सन्तोष बरालले जानकारी दिनुभयो । योसँगै उक्त क्षेत्रमा टुजी सहित चौंथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा आएको उहाँले बताउनु भयो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने ग्रामीण क्षेत्रका विकट वस्तीहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति अनुरुप सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्