१२ कार्तिक २०८३, बुधबार

 

छुटेका लाभग्राहीमा समेटिने

अनुदान पाउन छुटेका भूकम्प प्रभावित लाभग्राहीको सूचिमा पर्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुटेकालाई समेट्न पुनःसर्वेक्षणको तयारी थालेको छ । ‘लाभग्राही छुटेका भए हामी समेट्छौँ, प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भन्नुभयो, ‘कोही पनि अनुदानबाट बञ्चित हुन नपरोस् ।’

उहाँका अनुसार प्राधिकरणले अन्तिम पटकलाई पुनः जाँच, सर्वेक्षणको मौका दिन लागेको हो । स्थानीय तहको सिफारिस र इन्जिनियरको अध्ययनबाट पाउनै भर्ने ठहर भएमा अनुदान दिइने सदस्य श्रेष्ठको भनाइ छ । ३२ वटै भूकम्प प्रभावित जिल्लाबाट आएका छुटका गुनासालाई सम्बोधन गरिने उहाँले बताउनुभयो ।

‘फिल्डबाट इन्जिनियरहरु काठमाडौँ फर्कदैँ हुनुहुन्छ’ सदस्य श्रेष्ठले भन्नुभयो, ‘हालसम्मको पुनःनिर्माणको समिक्षा गर्छांै, छुटेकालाई समेट्न पुनःसर्वेक्षण हुन्छ ।’ बुधबार बागलुङमा भएको पुनर्निर्माण सम्बन्धी अभिमुखीकरणमा उठेका जिज्ञासाको जवाफ दिदैँ उहाँले सबै भूकम्प प्रभावितलाई सुरक्षित बासको सुनिश्चिता गरिने उल्लेख गर्नुभयो ।

सदस्य श्रेष्ठले गैरलाभग्राहीले अनुदान लिएको भए त्यसलाई निरुत्साहित गरिने बताउनुभयो । उहाँका अनुसार करीब दश प्रतिशत गैरलाभग्राहीले अनुदान लिएको प्राधिकरणको अनुमान छ । त्यसलाई रोक्न स्थानीय जनप्रतिनिधि र सञ्चार जगतको सहयोगको अपेक्षा गरिएको छ ।

सबै प्रभावित जिल्लामा गरी लाभग्राहीको सूचिमा पर्न नसकेको भनेर गुनासो गर्नेको संख्या हजारौँ छ । गुनासो सुनवाईका लागि प्रभावित घरहरुको पुनःसर्वेक्षण गर्न यसअघि नै प्राधिकरणबाट १४ अति प्रभावित जिल्लामा इन्जिनियरहरु खटिएका छन् । प्रभावितमा परेका १८ जिल्लामा पनि छिट्टै पुनःसर्वेक्षण गरिनेछ ।

प्राधिकरणको जिल्ला कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका प्रमुख इन्जिनियर रामाशिष साहका अनुसार बागलुङमा ७ सय ६ घरपरिवारले लाभग्राहीमा पर्न नसकेको भनेर गुनासो दर्ता गराएका छन् । ‘माथिबाट निर्णय आउँदासाथ पुनःसर्वेक्षणको काम हुन्छ’ उहाँले भन्नुभयो, ‘वास्तविक प्रभावितले अनुदान पाउनुहुन्छ ।’

भूकम्प प्रतिरोधी मापदण्डमा नपरेका घरहरुले भने अनुदान नपाउने उहाँले स्पष्ट पार्नुभयो । ‘पहिले बनेका घरहरु मापदण्डमा छैनन् भने अनुदान स्वीकृत हुँदैन’ इन्जिनयिर साहले भन्नुभयो, ‘त्यस्ता घरलाई मापदण्डमा ल्याउन प्राविधिक सहयोग गर्छौं ।’ जिल्लामा निजी आवासतर्फ कुल २३ सय ७५ लाभग्राहीको सूचिमा छन् ।

जसमध्ये २१ सय ५६ को हालसम्म सम्झौता भइसकेको छ । तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी २ हजार ७०, दोस्रो किस्ता ७ सय १७ र तेस्रो किस्ता ४ सय ७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतीको काम भइरहेको छ । त्यस्तै भूकम्पबाट क्षतिग्रस्त ४० विद्यालय पुनर्निर्माणको चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung