बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानलाई रङ्गशालाको रुपमा विकास गरिने भएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समिति मिलेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारेका छन् ।
रु. पच्चीस लाख खर्चमा ‘नेक्स्ट कन्सल्ट’ प्रा.लि.ले ‘डिपिआर’ बनाउने जिम्मा लिएको थियो । रङ्गशालामा चाहिने पूर्वाधार निर्माणको लागि रु. एघार करोड लागत अनुमान गरिएको छ । रङ्शालाले ४० रोपनी भन्दा बढी क्षेत्रफल ओगट्नेछ ।
रङ्गशालामा प्यारापिट, फुटबल, टेनिस मैदान, टिकट कक्ष, शौचालय, पार्किङ लगाएतका संरचना बन्नेछन् । ‘राष्ट्रिय स्तरको रङ्गशाला बन्छ’ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो, ‘खेल क्षेत्रको लागि यो महत्वपूर्ण उपलब्धी हो ।’
रङ्गशाला निर्माणमा पूँजीगत अनुदान स्वीकृतिका लागि गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयमा ‘डिपिआर’ बुझाइको छ । आवश्यक मापदण्ड र प्रकृया पु¥याएपछि अनुदान स्वीकृत हुनेछ ।
नगरपालिकामा एक रङ्गशाला र गाउँपालिकामा एक खेल मैदान निर्माण गर्ने प्रदेश सरकारको नीति छ । ‘प्रदेश सरकारमा अनुदानको प्रकृया अघि बढेको छ’ प्रमुख पौडेलले भनुभयो ‘अपुग बजेट अन्य स्रोतबाट जुटाउँछौँ ।’ बाङ्गेचौरलाई प्रदेशकै नमूना रङ्गशालाको रुपमा विकास गर्न नगरपालिका आफैले पनि लगानी बढाउनेछ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले खेलकुद क्षेत्रको विकासमा रङ्गशाला कोशेढुङ्गा बन्ने बताउनुभयो । ‘पाँच वर्षभित्र पूर्वाधारको काम सक्ने लक्ष्य छ’, उहाँले भन्नुभयो, ‘रङ्गशाला बनेपछि राष्ट्रिय स्तरका प्रतियोगिता यहीँ चल्छन् ।’
रङ्गशाला निर्माणका लागि चाहिने थप जग्गा व्यवस्थापनका लागि समेत पहल भइरहेको छ । पूर्वाधार बनाउँदा हाल रहेको ४० रोपनी बाहेक थप जग्गा चाहिने अनुमान छ । लागत पनि प्रतिवदेनमा अनुमान गरिएभन्दा बढी हुनसक्ने जनाइएको छ । रामरेखा सामुदायिक वन उपभोक्ता समूह र वडा कार्यालय जग्गा उपलब्ध गराउन तयार छन् ।
बाङ्गेचौर सदरमुकाममा रहेको एकमात्र खेल मैदान हो । फुटबल खेलको लागि मापदण्डयुक्त जिल्लाकै एकमात्र खेल मैदान भएका कारण बाङ्गेचौरको विकासमा सबैको चासो छ । पछिल्लो समय यहाँ फुटबल, क्रिकेट लगाएतका प्रतियोगिता नियमित हुन थालेका छन् ।
गण्डकी प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता अघिल्लो वर्ष बाङ्गेचौरमै भएको थियो । यो वर्ष पनि प्रतियोगिता सञ्चालनको तयारी छ । जिल्ला खेलकुद विकास समितिले दुई वर्षअघि मैदान सम्माउने र तारबारको काम गरेको थियो । जिल्ला फुटबल संघले पनि मैदानको स्तर सुधारमा काम गर्दै आएको छ ।



















































































































































































































