५ जेष्ठ २०८१, शनिबार

 

आर्थिक मन्दी’बाट चिन्तित छैन चीन

९ माघ, काठमाडौं । सन् २०१८ मा आर्थिक विकासको दर सबैभन्दा कम रहेको जानकारी चीनले सोमबार आधिकारिक रुपमा दिएको छ । सन् २०१८ मा चीनको जीडीपीको दर ६.६ प्रतिशत छ ।

चीनमा चासो राख्ने अन्तर्राष्ट्रिय जगत र मिडियाले यसलाई निकै प्राथमिकता दिए । यसबाट चीनको प्रगतिमा असर पर्ने मात्र होइन, पूरै विश्वको अर्थव्यवस्था प्रभावित हुने विश्लेषणसमेत गरे ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चीनमा अर्थव्यवस्थाको सुस्त गतिले विश्वभरको आर्थिक बजारमा गिरावट आउने प्रक्षेपण गरेको छ । बेक्जिटमा सहमति नभएको र चीनको कम आर्थिक वृद्धिले पूरै विश्व प्रभावित हुन सक्ने आईएमएफको विश्लेषण थियो ।

तर चीनले २१ जनवरीमा सार्वजनिक गरेको तथ्यांक उसको लक्ष्य अनुसारकै हो । चीनले पहिले नै भनिसकेको थियो कि अर्थव्यवस्थामा मन्दी आएमा त्यसलाई नियन्त्रित तरिकाले अगाडि बढाइने छ । चिनियाँ मिडियाहरुले पनि सकारात्मक तथ्यांक प्रस्तुत गरिरहेका छन् ।

सन् २०१८ को अन्तिम तीन महिनामा चीनको अर्थव्यवस्था ६ दशमलव ४ प्रतिशतको दरले बढेको थियो । यो दर सन् २००९ को वैश्विक मन्दीपछिकै सबैभन्दा कम हो । चीन सरकारको नियन्त्रणमा रहेका मिडियाहरुलाई भने यसलाई अमेरिकासँग जारी व्यापार युद्धको असर भन्न बन्देज छ ।

संकटमा छैन अर्थव्यवस्था

अमेरिकासँग ट्रेडवार सुरु हुनुभन्दा अगाडिदेखि नै चीन आर्थिक मन्दीको उपायमा जुटेको थियो । ट्रेडवार पछि भने यसको गति थप बढाइएको थियो ।

चिनियाँ मिडियाले अमेरिका र युरोपियन युनियनको लगातार कम रहने जीडीपी दरलाई पनि मतलव गरेका छैनन् । बरु ६ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिले चीनको तत्कालीन आवश्यकतालाई दर्शाउँछ ।

चीनको पत्रिका ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘विदेशी मिडियाको हतारको टिप्पणी २८ वर्षयताको सबैभन्दा कम जीडीपी र व्यापारिक मन्दीको दबावमा आएको छ । यो सत्य हो र यसमा ध्यान दिन पर्दछ । तर, केबल सुस्त दरमा मात्र ध्यान दिइमा गलत ब्याख्याको खतरा हुन्छ ।’

सम्पादकीयमा लेखिएको छ- अर्थव्यवस्थाको सुस्त दर सरकारको त्यो निर्णयको असर हो जसमा पर्यावरणलाई हानी पुर्‍याउने उद्योगविरुद्ध कारबाही भइरहेको छ साथै प्रविधिलाई स्तरोन्नती गर्नेतर्फ ध्यान केन्दि्रत गरिएको छ ।

ग्लोबल टाइम्स लेख्छ, ‘पर्यावरण र पारिस्थितिक प्रणालीमा ठूलो मूल्य चुकाएको भए चीनको विकासको दर उच्च रहन्थ्यो । साथै मानिसको आर्थिक र जीवनस्तर सुधारमा असफल पनि भइन्थ्यो ।’

ग्लोबल टाइम्सका अनुसार ६ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदरले चीन संकटको मुखमा रहेको देखाउँदैन बरु यो अप्ठ्यारो परिस्थितिको समाधान र जोखिम नियन्त्रण गर्ने प्रक्रिया हो ।’

सरकारले हासिल गर्‍यो लक्ष्य

चीनको अहिलेको विकासको ६ दशमलव ६ प्रतिशत दर सरकारको लक्ष्यअनुसारकै हो । यही कारण चीनबाट प्रकाशित अंग्रेजी भाषाको मुख्य पत्रिकाले राष्ट्रिय तथ्यांक व्यूरोलाई उद्धृत गर्दै २१ जनवरीमा समाचारको शीर्षक राखेको छ- ‘चीनको जीडीपी २०१८ मा ६.६ प्रतिशतसम्म पुग्यो : एनबीएस’ ।

अखबारले लेखेको छ, ‘चीनले सन् २०१८ मा जीडीपी वृद्धिका लागि तय गरेको ६ दशमलव ५ प्रतिशतको आफ्नो लक्ष्य हासिल गरेको छ । एनबीएसका अनुसार सुस्त देखिए पनि देशको अर्थव्यवस्थाको प्रगति अपेक्षाकृत नै छ ।’

यद्यपि चीनको शीर्ष नेतृत्व यस परिणामलाई लिएर सहज महसुस गरेको देखिँदैन । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्गले २१ जनवरीको दिन भनेका थिए ‘दबावलाई हेरेर’ आर्थिक अवस्था मजबुत गर्नु जरुरी छ ।

चीनको चमत्कार

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेली पत्रिकाले राष्ट्रिय तथ्यांक व्यूरो (एनबीएस)ले सार्वजनिक गरेको दोस्रो तथ्यांकलाई बढी प्राथमिकताका साथ उल्लेख गरेको छ । पत्रिकाले लेखेको छ, चीनको जीडीपीमा पहिलो पटक ९ सय खबर युआन अर्थात करिब १३२ खर्ब डलर भन्दाले वृद्धि भएको छ ।

पिपुल्स डेलीले यसलाई नयाँ कदम भनेको छ । २२ जनवरीको अंकमा यस समाचारलाई पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ । यो समाचारलाई राष्ट्रपति शी जिनपिङले प्रान्तीय पार्टी कार्यकर्ताहरुको बैठकमा गरेको महत्वपूर्ण भाषणभन्दा पनि स्थान दिइएको छ ।

पिपुल्स डेलीले पनि ६.६ प्रतिशत वृद्धिकोको तथ्यांकबारे चर्चा गरेको छ । साथै समाचारमा लेखिएको छ, ‘चीनले विश्वको आर्थिक विकासमा ३० प्रतिशत योगदान गर्दछ र चीन सबैभन्दा बढी योगदान गर्ने देश बनेको छ ।’

पिपुल्स डेली पत्रिकाको दोस्रो पानामा विस्तृत विवरणसहितको रिपोर्ट प्रकाशित छ । यसमा यस्ता तथ्यांकहरु छन् जसले अन्तर्राष्ट्रिय मिडियाहरुको तथ्यांकलाई खण्डन गरिदिएको छ । पत्रिकाका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभसँग जोडिएका देशहरुसँग चीनको आयात निर्यातमा १३ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी सकारात्मक समाचार सिन्ह्वा समाचार एजेन्सीले लेखेको छ । ६.६ प्रतिशतको ताजा तथ्यांकले चीनको अर्थव्यवस्था विश्वको अपेक्षामा छ भन्ने देखाउँछ ।

उसले लेखेको छ, ‘यो आंकडा अन्तर्राष्ट्रिय संरक्षणवादको अप्ठ्यारो स्थितिमा हासिल भएको छ र चीनले बाहिरबाट पनि चुनौतिहरुको सामना गरिरहेको छ । यो नतिजाले चीनको अर्थव्यवस्थाको एकाग्रता, दबदबा र चमत्कारलाई देखाउँछ ।’

– बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्