पोखरा विभिन्न बाहनामा ठगी गर्दै आएको भन्दै बागलुङकी सरिताकुमारी रानालाई प्रहरीले पक्राउ गरेको छ। केही समयदेखि सम्पर्कविहीन भएर बसेकी उनलाई काठमाडाैबाट पक्राउ गरेको हो।
अवैध घरजग्गा खोजीदिने र मिलाइदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा माग्दै आएकी सरिताले करिब २ करोड ५० लाख रुपियाँ ठगेको आरोप छ। त्यस्तै काठमाडौं भक्तपुरका रुद्र दुलान २ करोड ठगिएका छन् उनलाई ०६९–०७० सालमा मागेर फिर्ता नगरेको दुलानले बताए। दुलान सरिताको धर्म भाइ हुन्। काठमाडौंकै राजकुमार ढकालको ३२ लाख २० हजार ठगिएको उनले बताए। ‘मेरो त अदालतले समेत फैसला गरेको छ, ५८ लाख असुल गराउने भनेर फैसला गरेको छ, पोखरामा पक्राउ परेको खबर पाएर आएको हुँ’ –ढकालले बताए। काठमाडौंमा समेत करोडौं ठगी गरेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय कास्कीमा माघ १ गतेदेखि उनीविरुद्ध जाहेरी परेको थियो। उजुरी पश्चात् कास्कीको टोलीले उनलाई पक्राउ गरेको हो। सरिताले खाली चेक दिँदै ठगी गरेको उजुरी परेको थियो भने केहीलाई सापटी मागेको पैसा पनि फिर्ता नगरेको उनले स्वीकार गरेकी छन्। पोखराका जीतबहादुर पुन, नरमाया थापा मगर, तारा पुन थापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आफूहरू सरिताबाट ठगिएको जिप्रका कास्कीमा उजुरी दिएका थिए। तर पछिल्लो समयमा पीडितहरू झन् थपिदै गएका थिए। उनले लागभग ५० जनालाई ठगेको प्रहरीले बताएको छ।
लेखनाथमा बुढी बजारकी नीरा सुनार पनि सरितासँग १९ लाख रूपियाँ फसेको भन्दै प्रहरीको उजुरी दिएकी थिइन्। त्यस्तै १ करोड ७० लाख ठगिएकी दिलमाया पुन घडेरी बेच्ने योजनाको क्रममा भेटेकी थिइन्। रानासँग बिस्तारै सरिता दिलमायाको घरमा आउन जान शुरु गरिन्। बिस्तारै सम्बन्ध बढाएर थोरैथोरै पैसा सापटी मागेर फिर्ता गदै गर्दा रानाले एनआईसी एसियाको १ करोड ७० लाख रुपियाँ बराबरको चेक दिलमायालाई दिएकी थिइन्।
लेखनाथकै देवी जिसी सरितासँग ठगिएको भन्दै प्रहरीकहाँ पुगेकी छन्। ३ लाख लगेको र फिर्ता नगरेको उनको भनाइ छ। सरीताले फरकफरक व्यक्तिसँग ३ लाखदेखि १ करोड ७१ लाखसम्म ठगी गरेको आरोप लागको छ। पीडितहरूले जाहेरीमा उल्लेख गरेअनुसार २ करोड ४२ लाख रुपियाँ पुगेको थियो। उनले करोडौं रूपियाँ ठगेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओम रानाले घटनाको छानबिन भइरहेको बताए। ‘परिवार लण्डनमा छ भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आइरहेको रहेछ, तर परिवार लण्डनमा रहेनछ, २ करोड ५० लाख पोखरामा ठगिएका छन’ –एसपी रानाले भने। उनलाई बैंकिङ कसुर मुद्दा दर्ता गरिएको उनले बताए। उनले विभिन्न जिल्लामा करोडौं रूपियाँ ठगी गरेको पीडितहरूले बताए।



















































































































































































































