१२ कार्तिक २०८३, बुधबार

 

मालढुंगा दुर्घटनामा घाइते भएकालाई राष्ट्रिय सभा अध्यक्षले भेटे

पर्वत /राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले मणिपाल शिक्षण अस्पताल पोखरा पुगेर पर्वतको मालढुंगामा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

अध्यक्ष तिमिल्सीनाले बुधबार अस्पतालमा पुगेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराई रहेका १० जना बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

अध्यक्ष तिमिल्सीनाले सबै घाइते र आफन्तलाई भेटेर उपचारको अवस्था, घाइतेहरुको उपचार खर्च लगायतका बिषयमा जानकारी लिनुभयो । उहाँले बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिनुभयो ।

मणिपाल शिक्षण अस्पतालमा पुगेका २३ जना घाइते उपचारपछि घर फर्केका छन भने अन्य बिरामीको अवस्था पनि सुधार हुदै गएको अस्पताल प्रशासनले जनाएको छ । बिरामीको स्वास्थ्य अवस्था र उपचारमा भैरहेको प्रगतिका बारेमा मणिपाल शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. बिजय सिग्गेले जानकारी गराउनुभएको थियो ।

उहाँले अस्पतालले बस समितिबाट समयमा उपचारको खर्च नआउँदा समस्या भएको अध्यक्ष तिमिल्सीनालाई जानकारी गराउनुभएको थियो । थप खर्च आउँदा बिरामीको उपचार गर्न सहज हुने भनाई उहाँको थियो । अध्यक्ष तिमिल्सीनाले पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई टेलिफोन गरि समयमा उपचार खर्च पठाउने र क्षतिपुर्ती लगायतका बिषयमा सहजीकरण गर्न निर्देशन समेत दिनुभयो ।

अध्यक्ष तिमिल्सीनाले उक्त बस दुर्घटनामा परि घाइतेहरुलाई काठमाण्डौको छाउनी स्थित सैनिक अस्पताल र ग्राण्डी अस्पतालमा पुगेर भेट्नुभएको थियो । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको बस पर्वतको मालढुंगामा दुर्घटना हुँदा ७ जना यात्रुको मृत्यु भएको थियो भने ३२ जना यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung