३२ असार २०८२, बुधबार

 

पुनःनिर्माणमा प्राधिकरण–स्थानीय तह सहकार्य

बागलुङ,
भूकम्पपछिको पुनःनिर्माणलाई गति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र यहाँका स्थानीय तहबीच सहकार्य अघि बढेको छ । दुवै पक्षले समन्वय र सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

यसअघि प्राधिकरणले निजी आवासको पुनःनिर्माणमा स्थानीय तहलाई सहभागी गराउने निर्णय गरेको थियो । जस अनुसार जिल्लाका दश वटै स्थानीय तहले पुनःनिर्माण सम्बन्धी कार्यक्रम, योजना कार्यान्वयनको जिम्मेवारी पाएका छन् ।

पुनःनिर्माणमा चाहिने जनशक्ति र बजेट भने प्राधिकरणले व्यवस्था गर्नेछ । जनशक्तिलाई काममा खटाउने, हाजिरी राख्ने लगाएतका प्रशासनिक कामको जिम्मा स्थानीय तहलाई छ । कर्मचारीको तलव भत्ता पनि प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत उपलब्ध हुनेछ ।

स्थानीय तहमा थप कर्मचारी, विज्ञ आवश्यक परेमा प्राधिकरणले नै पठाउने एकाइका निमित्त प्रमुख इन्जिनियर रामाशिष साहले बताउनुभयो । पुनःनिर्माणमा खटिएका जनशक्तिलाई अन्य काममा लगाउन नपाइने प्रावधान छ ।

समझदारी पत्रमा कर्मचारीलाई चाहिने कार्यकक्ष र फर्निचर स्थानीय तहले उपलब्ध गराउनुपर्ने उल्लेख छ । मसलन्द खर्चका लागि आवश्यक बजेट भने शर्तसहित प्राधिकरणले उपलब्ध गराउनेछ ।

स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना प्राधिकरणले तोके अनुसार सम्पन्न गरी स्थानीय तहले नै फरफारक गर्नुपर्ने व्यवस्था छ । ‘लाभग्राहीले पाउने अनुदान प्राधिकरणबाट निकासा जान्छ’ इन्जिनियर साहले भन्नुभयो, ‘योजना कार्यान्वयन गर्ने, सम्पन्न गर्ने जिम्मा स्थानीय तहको हो ।’

पुनःनिर्माणमा खटिएका कर्मचारीले पदीय आचरण विपरीत कार्य गरेमा स्थानीय तहले कारबाहीका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइमा सिफारिस गर्नेछन् । निजी आवास पुनःनिर्माण सम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज पनि विस्तारै स्थानीय तहलाई हस्तान्तरण गरिने जनाइएको छ ।

स्थानीय तहको जिम्मामा आएपछि पुनःनिर्माण प्रभावकारी हुने विश्वास गरिएको छ । प्राधिकरणसँग भएको समझदारी अनुसार काम अघि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो । ‘पुनःनिर्माण हाम्रो साझा दायित्व हो’ उहाँले भन्नुभयो, ‘सबै पक्षको सहयोग र समन्वयमा काम अघि बढ्छ ।’

जिल्लामा निजी आवासतर्फ कुल २३ सय ७५ लाभग्राहीको सूचिमा छन् । जसमध्ये २१ सय ५६ को हालसम्म सम्झौता भइसकेको छ । तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी २ हजार ७०, दोस्रो किस्ता ७ सय १७ र तेस्रो किस्ता ४ सय ७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतीको काम भइरहेको छ ।

त्यस्तै भूकम्पले भत्काएका विद्यालय भवनको पुनःनिर्माणले पनि गति लिएको छ । यो वर्ष ४० विद्यालयको पुनर्निर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । थप दुई विद्यालय भवन क्रमागत योजना अन्तर्गत निर्माणाधीन छन् । ७२ विद्यालय पुनःनिर्माणको पखाईमा छन् ।

अनुदान पाउनबाट छुटेका भूकम्प प्रभावित लाभग्राहीमा समेटेनी प्राधिकरणले जनाएको छ । पुनः जाँच र सर्वेक्षण गरेर भएपनि छुटेकालाई अनुदान दिलाइनेछ । भूकम्प गएको दुई वर्षपछि मात्र प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना भएकाले पुनःनिर्माणमा ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung