१२ कार्तिक २०८३, बुधबार

 

बस्नेतलाई कुट्ने प्रहरीलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

बागलुङ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६, हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई कानूनी कारवाहीको माग गर्दै संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापन पत्र बुझाएको छ ।

ज्यान मार्ने नियतले मरासन्न हुने गरी कुटपिट गर्ने प्रहरी जवानमाथि कारवाहीको माग गर्दै संघर्ष समितिले ज्ञापन पत्र बुझाएको हो ।
गत पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारबाहीका लागि दुवै जनालाई निलम्बन गरेको छ ।

घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा आर्थिक संकट देखिएको छ । घरको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या देखिएको हो ।

प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डै दुई लिटर रगत दिनुपरेकोे र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५० भन्दा बढी टाँका लगाइएको परिवारका सदस्यले बताएका थिए । कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च स्वरुप परिवारलाई ४ लाख बुझाएको छ । तर उक्त रकम उपचारको लागि अपुग भएको परिवारले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या हुने हो की भन्ने परिवारलाई चिन्ता हुन थालेको छ । परिवारले उनको उपचार खर्चका साथै उनलाई भविष्यमा कुनै प्रकारको दिर्घ रोग लागेमा त्यसको जिम्मेवारी कस्ले लिने भन्दै आवश्यक कारवाही र उचित क्षतिपूत्र्तिको लागि माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung