बागलुङ । ओशो अमृतम ध्यान केन्द्र बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङ मातहतमा विभिन्न चौकीहरुमा खटिएका प्रहरी जवानलाई ध्यान शिक्षा प्रदान गरेको छ । ध्यान केन्द्रले एक हप्ताको ध्यान शिक्षा क्याप नै शुरु गरी प्रहरीहरुलाई ध्यान शिक्षा दिएको हो ।
जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी चौकीबाट कम्तीमा एक–एक जना प्रतिनिधित्व हुने गरी ५० जना प्रहरीलाई सदरमुकामस्थित विपद् व्यवस्थापन कार्यदलमा ल्याएर ध्यान शिविर गराएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

दिनभर काम गर्ने फुर्ती बढ्ने र नकारात्मक धारणा अन्त्य गर्न ध्यान उपयोगी हुने भएकाले पनि प्रहरीहरुलाई ध्यानसम्बन्धी ज्ञान दिइएको हो ।
ध्यान शारीरिक अभ्यास नभई मानसिक अभ्यास भएका कारण मानसिक रुपबाट नै मानिस स्वथ्य हुने भएकाले बागलुङ जिल्लाभरी नै ध्यान केन्द्रले यस्तो शिविरको आयोजना गर्दै आइरहेको छ ।

लोभ, मोह, इष्र्या, कुण्ठा र विकृत मनस्थिति परिवर्तन गरेर आत्मशान्तिका लागि ध्यान गर्न लगाउने गरेको सञ्चालिका ज्योत्सना शाक्यले बताइन् । अबको केही समयमा नै विश्वकै डलराग्दो रोगका रुपमा डिप्रशेन देखा पर्नेछ जून निकै घातक हुनसक्छ त्यसैले यस्तो रोगबाट मुक्त हुनको लागि ध्यानको आवश्यकता रहेको शाक्यले बताइन् ।

‘संसारभर तनाव बढिरहेकाले अब हामीले ध्यानमा लगाएर शान्ति खोज्ने सन्देश दिन खोज्दैछौं,’ उनले भनिन् ‘ध्यानका २ सय विधि पच्छ्याएमा झगडा र लडाइँ भन्ने हट्नेछ, एकले अर्काको सम्मान र माया गर्ने वातावरण तयार हुन्छ ।’ ओशो तपोवन काठमाडांैमा ध्यानकै लागि संसारका पर्यटक आउन थालेको उनले बताइन् । ध्यानका लागि आएका पर्यटकबाटै देशको आर्थिक समृद्धि समेत सम्भव हुने उनको तर्क छ ।

केन्द्रले बागलुङका प्रहरी, पत्रकार, कारागारका बन्दी, आमा समूह र श्रमिक महिलाहरूलाई तालिम र ध्यान सञ्चालन गरेको अध्यक्ष लीला खड्काले बताइन् । नृत्य र अन्य व्यायाम गराएपछि ध्यानमा बसाल्दा बढी प्रभावकारी भएको समेत उनले बताइन् ।
फोटो : मन्जुल शाक्यको फेसबुकबाट



















































































































































































































