२२ भाद्र २०८३, सोमबार

 

बागलुङ कालिकामा विवाह गर्न कडाई

बागलुङ । बागलुङमा रहेको प्रशिद्ध कालिका भगवतीको मन्दिरमा विवाह गर्नेहरुको लागि कडाई गर्न थालिएको छ ।
पछिल्लो समयमा कालिका मन्दिरमा कानूनले तोकेभन्दा कम उमेरका युवायुवतीहरु आउने र अभिभावक विना नै विवाह गर्ने प्रचलन बढेपछि विवाहमा कडाई गर्न थालिएको हो ।

नेपालको कानुनले २० बर्ष भन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएको छ । बागलुङमा बालविवाह पनि बढी भएका कारण त्यसको न्यूनिकरणको लागि यस्तो गरिएको हो ।

‘उमेर नपुगी बिवाह गर्नेहरुलाई मन्दिरमा आएर बिवाह नगर्दिनुस भनेका छौं’ गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने ‘राज्यले बनाएको कानून परिपालना गराउनु र पालन गर्नु हाम्रो दायित्व हो ।’ गुठीले कानूनले तोके अनुसारको केटा र केटीको उमेरको फरक पनि २० बर्ष नभएमा बिबाहका लागि मन्दिरमा नआउन आग्रह गरेको छ ।

गुठीले पछिल्लो समय केटा केटी मात्रै मन्दिरमा आएर बिबाह गर्ने गरेको प्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । ‘केटा केटी मात्रै मन्दिरमा आएर बिबाह गर्दा कस्तो अवस्थामा आएका हुन भन्ने थाहै हु्ँदैन’ खड्काले भने ‘कहिलेकाहीं जवरजस्ती बिबाह पनि भएको हुन सक्छ, त्यसका कारण पछि पर्ने समस्याका बारेमा हामी सचेत हुनै पर्छ ।’ उनले अभिभावक वा कोही आफन्त र साथीभाई लिएर मात्रै बिवाहका लागि मन्दिरमा आउन आग्रह गरे । ‘हामीले आग्रह मात्रै गरेका छौं, मन्दिरमा सूचना टाँस पनि गरेका छौं, नमान्नेलाई कारवाही गर्ने अधिकार त हामी सँग छैन तर पवित्र स्थानमा पवित्र मन लिएरनै आउनुहुन्छ भन्ने आशा राखेका छौं ।’ खड्काले भने । बर्षमा झण्डै ६ सय विवाह हुने मन्दिरमा लगनको महिनामा दैनिक १८ देखी २५ वटा सम्म बिबाह हुने गरेका छन् । बिवाह लगन नभएका महिनामा पनि मन्दिरमा बिबाहका लागि आउने गरेको गुठीले जनाएको छ ।

एउटा बिवाह सम्पन्न गर्दा ५ सय रुपैयाँ शुल्क लिने गरेको गुठी व्यवस्थापन समितिले बिबाह शुल्कबाट उठेको रकमले आवश्यक पुर्वाधारहरु निर्माण गर्ने गरेको छ । मन्दिर परिसरमा बिवाहकालागि मण्डप समेत व्यवस्था गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung