
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा रहेको जनकल्याण माध्यामिक विद्यालयको मंगलबार ४४ औं वार्षिकोत्सवको मूल समारोह भव्यताका साथ मनाईरहेको थियो । ५ बजेपछी वार्षिकोत्सव सकियो सबै आ–आफ्नो घर तर्फ फर्कने तयारीमा थिए साँझ परिसकेको थियो विद्यालय परिसरमा छिस्तीको केवै जाने एउटा पीकअप जीपमा केही विद्यार्थी तथा अभिभावकहरु गाडी चढ्न झुम्मिएका थिए विद्यालयका प्रधानध्यापक शंकर पौडेलले स्मरण गर्दै भन्नुभयो ‘केही वेरमानै जीप दुर्घटनाको खबर आयो, उत्सव मनाएको एक घण्टा नवित्दै शोकमा परिणत भयो ।’
जीप दुर्घटनाका घाइतेलाई धौलागिरी अञ्चल अस्पतालमा उद्दार गरी ल्याउँदा रातको १२ बजेको थियो सबैको ध्यान कक्षा ७ मा अध्ययनरत १३ वर्षीया ज्योती पुन तर्फ गयो । अस्पताल ल्याउदा साथ ज्योतिलाई चिकित्सकले मृत घोषणा गर्दा त्यहाँ पुगेका शुभेच्छुकहरु भाव विह्वलमा देखिन्थे ।
मंगलबार साँझको समयमा विद्यालयका विद्यार्थी तथा अभिभावक बोकेको पीकअप जीप विद्यालयदेखि केवै तर्फ जादै गर्दा दुर्घटना हुँदा विद्यालयका एक लेखापाल सहीत ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ११ मध्ये चारजनाको पोखरा स्थीत मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने ७ जनाको बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
विद्यालयका लेखापाल ३० वर्षिया तुलसी पुन र कक्षा नौंमा अध्ययनरत १४ वर्षीया एलिना पुनको घटना स्थलमानै मृत्यु भइसकेको थियो भने उपचारका क्रममा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया प्रियङ्का पुन र कक्षा ७ मा अध्ययनरत १३ वर्षीया ज्योती पुनको अञ्चल अस्पतालमा मृत्यु भयो ।घाइते धना श्रीष, विष्ना श्रीष, सङ्गम श्रीष र सम्झना पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तृष्ण पुन, मानकुमारी थापा, विशाल परियार, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ । जीपमा करीब २० भन्दा बढी यात्रु रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
‘जीपमा चढेका थियौ, चालकले धेरैलाई लाने हैन भनेर केहीलाई ओराल्यो जीप हिड्न थाल्यो हामी पुःन जीपमा चढ्यौं,’ १३ वर्षिय घाइते विशाल परियारले प्रत्यक्ष कुराकानीका क्रममा हामीलाई भन्नुभयो ‘घुम्तीमा जीप पछाडी सरेजस्तो लाग्यो त्यपछि खासै थाहाँ भएन ।’‘यतिवेला सिंगो छिस्ती गाउँनै शोकमा डुबेको छ,’ प्रधानध्यापक शंकर पौडेलले भन्नुभयो ‘सबै वडाका विद्यालय तथा संघ संस्थाले शोक प्रस्ताव पारीत गरेर बुधवार र बिहीबार विदा दिएको छ ।’
ध १ ज ७९१ नम्बरको पीकअप जीप जृण सडक तथा अनुभव नभएको चालकका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालक १८ वर्षीय प्रविन पुनलाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका र घाइते जैमिनी नगरपालिका–८ छिस्ती केवैका स्थानीय भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जीप सडकदेखि करिव ७ सय मिटर तल खसेको थियो ।