हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगाएत विशिष्ठ व्यक्तिहरु र सर्वसाधारण जनताहरुले श्रद्धाञ्जली दिएका छन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको अध्यक्ष प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या टुँडीखेल पुगेर श्रद्धाञ्जली दिएको थिइन । टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ।अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ ।
श्रद्धाञ्जली दिन गएको आफन्तजनको वेदनाले भरिएको रोदनले टुँडिखेलको वातावरणलाई भावुक बनाएको थियो ।बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा रवीन्द्र अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।
बिहीबार शवहरुको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । हिजै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको हो ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखरामा गरिने भएको छ ।अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि पोखराको प्रदर्शंनी केन्द्रमा राखिने व्यवस्था गरिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि शवयात्रा सहित अन्त्येष्टि गरिने छ ।नेकपाले फागुन २३ गते् श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।



















































































































































































































