नेकपाको नेता तथा पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । शनिबार राती ९ बजेर ३५ मिनेट जादा अधिकारीलाई चिकित्सकले मृत घोषित गरेको थियो । अधिकारी गत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचारत थिए । ८३ वर्षीय अधिकारीलाई मुटु, निमोनिया, श्वासप्रश्वास लगायतका रोगबाट ग्रसित भएपछि अस्पताल भर्ना गरिएको थियो ।
शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अस्पतालले अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो ।विस २००८ सालदेखि राजनीतिमा सक्रिय अधिकारी नेकपा माक्र्सवादीका नेता थिए ।विस २०४७ सालपछि मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा माक्र्सवादी र मदन भण्डारीले नेतृत्व गरेको नेकपा मालेको एकटापछि नेकपा एमालेको वरिष्ठ नेता र राजनैतिक अर्थशास्त्रको चिन्तकको रुपमा नेपाली राजनीतिमा परिचित थिए।
नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा परिचित थिए । उनी विस २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए । आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम अधिकारी अर्थमन्त्री हुदा ल्याइएको थियो ।विस २०४६ सालमा सोभियता संघ र पूर्वी युरोपबाट कम्युनिष्ट व्यवस्था ढलेर विश्वव्यापी रुपमा कम्युष्टिलाई हेर्ने दृष्टिकोण नकरात्मक भएको बेला वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन गरेर जनधारणा परिर्वतन गर्न मद्दत पुगेको थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न दलको नेता ,कार्यकर्ता र सर्वसाधारण जनताको घुइँचो लागेको छ ।
आज मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।नेकपाको बैठक बसि पुर्वउपप्रंधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई श्रद्धाञ्जली दिएको थियो ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा निर्णय गर्न मन्त्रिपरिषदले बालुवाटारमा बैठक बस्न लागेको छ ।बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।



















































































































































































































