भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातना विरुद्धको कसुर मुद्दाका आरोपित निलम्बित प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी धरौटीमा रिहा हुनुभएको छ ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले दुवै मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक जिसीलाई रु नौ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो।
जिल्ला अदालत कञ्चनपुरका सेस्तेदार हरिकृष्ण अवस्थीले जिसीलाई यातना विरुद्धको कसुरमा रु पाँच लाख र सार्वजनिक न्याय विरुद्धको कसुरमा चार लाख धरौटी सुनाइएको जानकारी दिनुभयो । आरोपित जिसी बुधबार धरौटी रकम बुझाएर रिहा हुनुभएको हो ।
उक्त मुद्दामा यसअघि जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीसहित ६ प्रहरी कर्मचारी धरौटीमा रिहा भइसक्नुभएको छ ।
बालिका पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले गत पुस ३ गते सार्वजनिक न्याय विरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिनुभएको थियो । दुवै मुद्दामा आरोपित आठै जना प्रहरी कर्मचारी धरौटीमा रिहा हुनुभएको थियो ।



















































































































































































































