काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छन् ।
मन्त्रालयका सहसचिव सुरेश अधिकारीका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ समायोजन भएको जानकारी गराए । प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ समायोजन सम्पन्न भएको छ । स्थानीय तहमा ६६ हजार ९ सय ८ जनामा ३१ हजार ४३ जना समायोजन भएका छन् । समायोजन महाशाखाका सहसचिव केदारप्रसाद पनेरुले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै कर्मचारी समायोजनाको काम सकिएको जानकारी त्यस क्रममा गराए । सहसचिव अधिकारीले समायोजनको गुनासोलाई चैत भित्रमा सम्बोधन गरिने बताए । उनले भने ‘कर्मचारीको गुनासो सुनी सम्बोधन पनि गरिने छ ।’
पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनाको काम सम्पन्न भएको घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा मन्त्री पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोकसेवा आयोगमार्फत छिट्टै भर्ना खुला गर्ने बताए । मन्त्री पण्डितले भने ‘सरकारले १ बर्षभित्र कर्मचारी समायाेजन सकेकाे छ । केही कमी कमजोरी पनि भएका छन् । चैत्र २० गतेसम्म कर्मचारीले आफ्नो गुनासो गर्न सक्नेछन् । जायज गुनासालाई सम्बोधन गर्नै छौं । ’
१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई आग्रह गर्न लागेको उनले जानकारी गराए । समायोजनको काम कुशलतापूर्वक सम्पन्न गरेकोमा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको मन्त्री पण्डितले प्रशंसा समेत गर्न भ्याए ।



















































































































































































































