
काठमाडौं । सरकारका सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले कर्मचारी समायोजन सम्पन्न भइसकेकोले अपुग थप कर्मचारी लोकसेवा अयोग मार्फत पूर्ति गर्ने तयारी गरिएको जानकारी गराएका छन् । लोकसेवा आयोगले पनि कर्मचारी समायोजनसँगै १४ हजार भन्दा धेरै रिक्त पदमा भर्नाका लागि प्रक्रियागत आवेदन माग गर्नै तयारी भैरहेको जानकारी गराएको छ ।
सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सकेको जानकारी बिहीबार पत्रकार सम्मेलन गरी गराएको हो । आयोगले भने प्राविधिकसहितको पदमा दर्खास्त माग्ने तयारी थालेको छ । सरकारले यही आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरु पदपूर्तिे गर्ने तयारी गरेको छ । देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भईरहेको गुनासो छ ।
समायोजनसँगै सरकारले तीनै तहमा रिक्त दरबन्दीको प्रक्षेपण गर्दा तत्काल सबै सेवा समूहका करिब २० हजार दरबन्दीमा पदपूर्तिे गर्नेछ । समायोजन प्रक्रिया लम्बिएका कारण लोकसेवा आयोगले यसवर्ष सञ्चालन गर्ने विभिन्न तहको परीक्षा र विज्ञापन प्रकाशन कार्यतालिका प्रभावित हुँदै आएको थियो । समायोजन सकिएपछि अब आयोगलाई यो बाटो खुलेको छ ।
मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी पदपूर्तिे गर्ने जिम्मेवारीको अख्तियारी दिइएको जानकारी गराए । सरकारको यो निर्णयसँगै आयोगले तत्कालका लागि १४ हजार पदमा भर्ना खोल्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामापनि फाष्ट ट्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने तयारी भएको छ । प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा सहसचिव स्तरसम्ममा लोकसेवा खुल्ने भएको छ ।