
भारत (अमेठी)– भारतका अन्य निर्वाचन क्षेत्रका तुलनामा उत्तर प्रदेशका बनारस र अमेठी विशेष चर्चामा छन् । बनारसबाट प्रधानमन्त्री नरेन्द्र मोदी उम्मेदवार बनिरहँदा अमेठीबाट प्रधानमन्त्री पदकै अर्का प्रत्याशी तथा भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धी मैदानमा छन् ।
अहिलेसम्म तीनपटक लोकसभामा निर्वाचित गान्धी जारी १७औं लोकसभा निर्वाचनमा अमेठीसँगै केरेलको वायनाडबाट पनि उठेका छन् । अमेठी उनका लागि पैत्रिक बिरासतको क्षेत्र हो । अघिल्लोेपटक राहुलले यहीँबाट आम आदमी पार्टीका कुमार विश्वास र भाजपाकी स्मृति इरानीलाई पराजित गरेका थिए । उत्तर प्रदेशका ७८ स्थानमा हार बेहोरेको कंग्रेसका लागि अमेठीबाट राहुल र रायबरेलीबाट आमा सोनिया गान्धीले साख जोगाएका थिए ।
५ सय ४३ सिट रहेको भारतको लोकसभामा २०१४ मा कंग्रेस ४४ सिटमा खुम्चिएको थियो । अमेठीबाट सन् २००४ देखि राहुलले निरन्तर जित्दै आएका छन् । पहिलोपटक सन् २००४ मा २ लाख ९० हजार मतान्तरले जितेका उनले दोस्रोपटक सन् २००९ मा ३ लाख ७० हजार र ०१४ मा १ लाख ७ हजारको अन्तरले प्रतिद्वन्द्वीलाई पछि पारेका थिए ।
अमेठी निर्वाचन क्षेत्र गान्धी परिवारको बिरासत मानिन्छ । १६औं पटक लोकसभा निर्वाचन भइसक्दा यहाँबाट १३ पटक कंग्रेसले जितेको इतिहास छ । यो बिरासत सञ्जय गान्धी, राजीव गान्धी, सोनिया गान्धी हुँदै राहुलसम्म आइपुगेको हो ।
कंग्रेसले बहुमत ल्याए राहुल प्रधानमन्त्रीका दाबेदार हुन सक्ने भएकाले बहुसंख्यक अमेठीबासी यसपटक पनि उनको विपक्षमा जान चाहँदैनन् । फेरि भाजपाकी इरानी नै राहुलकी प्रतिद्वन्द्वी छिन् । अघिल्लो चुनावमा हारे पनि पार्टीले उनलाई मन्त्री बनाएको छ । भाजपाको युवा पुस्तामा उनी प्रभावशाली नेत्रीका रूप स्थापित छिन् । त्यसैले यसपटक पनि अमेठी रोचक निर्वाचन क्षेत्रमध्ये एक भएको छ ।
करिब २० लाख मतदाता रहेको अमेठीमा यसपटक सपा र बासपा गठबन्धनले कंग्रेसलाई समर्थन गरेको छ । यसले पनि राहुलका पक्षमा माहोल राम्रो देखिन्छ । यी दुई क्षेत्रीय दलले उत्तर प्रदेशका ८० निर्वाचन क्षेत्रमध्ये ७८ स्थानमा उम्मेदवार उठाए पनि अमेठी र रायबरेलीमा राहुललाई सघाएका हुन् । भाजपाविरुद्धको गठबन्धनमा रहेका सपा र बासपा उत्तर प्रदेशमा आफ्नो अस्तित्व कायम गर्न कंग्रेसप्रति सहिष्णु बनेको स्थानीय बिरुभाइ तिवारीले बताए । ‘जसरी हुन्छ भाजपा हराउ अभियान हो । त्यसैले यहाँ बासपा र सपाले कंग्रेसलाई समर्थन गरेका छन्,’ उनले भने ।
सन् १९७१ मा सञ्जय गान्धी युथ कंग्रेस गठनसँगै अमेठीमा प्रवेश गरेको विगत छ । उनले पहिलोपटक सन् १९७४ मा यहाँबाट जितेका थिए । त्यसयता यो क्षेत्रसँग गान्धी परिवारको विजयी साइनो गाँसिँदै आएको छ । त्यसो त सन् १९७७ को निर्वाचनमा इन्दिरा गान्धीले पराजय बेहोर्नुपरेको तितो अनुभव पनि छ । इन्दिरालाई रवीन्द्रप्रताप सिंहले पराजित गरेका थिए । त्यो नै अमेठीमा गान्धी परिवारको अहिलेसम्मको अन्तिम पराजय हो । अमेठीको समग्र विकासलाई गान्धी परिवारले ध्यान दिँदै आएको स्थानीय बताउँछन् ।
सन् १९८० जुनमा सञ्जयको हवाई दुर्घटनामा निधन र १९८४ अक्टोबरमा इन्दिराको हत्यापछि राजीव गान्धी अमेठीबाट निर्वाचित भएर देशको नेतृत्व सम्हाल्न पुगेका थिए । राजीवको पनि सन् १९९१ मा हत्यापछि पत्नी सोनियालाई अमेठीबासीले विजयी गराएका थिए । राजीव गान्धी यही क्षेत्रबाट चारपटक निर्वाचित भएको इतिहास छ।
उत्तर प्रदेशको राजधानी लखनउनिकट रहेको अमेठी विकासनिर्माण र अन्य सुविधाका हिसाबले समृद्ध जिल्लाका रूपमा चिनिन्छ । एकपटकको पराजयपछि गान्धी परिवारले यो क्षेत्रको विकासमा उच्च महत्व दिँदै आएको छ ।
करिब ५० लाख जनसंख्या रहेको अमेठीमा आपका उम्मेदवार जति चर्चित रहे पनि निर्वाचनको प्रतीक्षामा रहेका मतदाताले राहुललाई नै जिताएर पठाउने रणवीर इन्टर कलेजका प्राध्यापक केके मिश्राले दाबी गरे । ‘गान्धी परिवारको अग्रसरतामा भएको विकासले नै ४० वर्षको अवधिमा अमेठीबासीको जीवनस्तरमा परिवर्तन आएको छ,’ उनले भने । अमेठीका महाराज रणञ्जयको आग्रहमा गान्धी परिवार यहाँ आएको स्मरण सुनाउँदै उनले यो क्षेत्रले गान्धीका चार पुस्तामा पाँच सदस्य निर्वाचित गराउन सफल भएको बताए । ‘अन्य क्षेत्रमा कंग्रेस के गर्छ भन्न सक्दिनँ तर अमेठीबाट राहुललाई हामी फेरि पनि जिताउँछौं,’ मिश्राले भने, ‘आमा इन्दिरा गान्धी, छोराहरू सञ्जय र राजीव, त्यसपछि राजीवपत्नी सोनिया र नाति पुस्ताका राहुललाई अमेठीबासीले विजयी गराएका छन् ।’
स्थानीयलाई राष्ट्रिय राजनीतिमा कंग्रेसको अवस्था के हुन्छ भन्नेमा चासो छैन । अमेठीमा चाहिँ राहुलले हार्न हुँदैन भन्ने कामना उनीहरूमा छ । ‘नेहरूको वंश हो, भारत आजाद गराउन नेहरूको योगदान थियो,’ स्थानीय गोपाल स्वामीले भने । भारतीय जनता पार्टी (बिजेपी) अन्य क्षेत्रमा सशक्त रहे पनि अमेठीमा तुलनात्मक रूपमा कमजोर देखिन्छ । क्षेत्रीय दलले समेत समर्थन गरेपछि यसपटक कंग्रेसका पक्षमा माहोल अझ राम्रो बनेको स्थानीयको बुझाइ छ ।
गान्धी परिवारकै कारण अमेठीमा रेलमार्गको सहज पहुँच बनेको स्थानीय रामगोपाल पाण्डेले बताए । ‘यहाँको द्रुत विकासमा गान्धी परिवारको भूमिकाकै कारण अमेठीबासी आफ्नो नेतृत्व परिवर्तन गर्ने पक्षमा छैनन्,’ उनले भने । अमेठीमा हिन्दुस्तान एरोनेटिक लिमिटेड (एचएएल), बिजुलीका सामान बनाउने उद्योग (बिएचएल), इन्डो गल्फ उद्योग, इन्डिया इन्फरमेसन टेक्नोलोजी सेन्टर (आईआईटीसी), सेनेटरी सामान निर्माण गर्ने उद्योग, रेलको लिक र विभिन्न पार्टपुर्जा बन्ने उद्योग, हतियार उद्योग, साइकल निर्माण कम्पनी, मिनरल पानी प्रशोधन कम्पनी, प्राविधिक कलेज, पेट्रोलियम इन्जिनियरिङ कलेज, ग्यास प्लान्टलगायत ठूला परियोजना तथा उद्योग सञ्चालित छन् ।
गान्धी परिवारको पहलमै अमेठीमा औद्योगिकीकरणसाथै बैंक, वित्तीय संस्था, सहकारी स्थापना र सहरीकरण एकसाथ भएकाले बहुसंख्यक स्थानीय उनीहरूप्रति सहिष्णु देखिन्छन् ।