२९ असार २०८२, आईतवार

 

मोदीका प्रतिष्पर्धी कांग्रेस उम्मेदवार अजय रायले नेपाली समक्ष माफी मागे

सञ्जय पन्थी

भारत (बनारस)– बनारसबाट प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिष्पर्धामा उत्रिएका कंग्रेस उम्मेदवार अजय रायले विवादित छविका कंग्रेस युवा नेता हार्दिक पटेलले नेपालीलाई चौकिदार भनेर अभिव्यक्ति सार्वजनिक गरेकोमा पार्टीका तर्फबाट माफी मागेका छन् । बनारसको ललिताघाटस्थित पशुपतिनाथ मन्दिर परिसरमा दर्शनका लागि आएका कंग्रेस उम्मेदवार रायले उपस्थित नेपालीसमक्ष सार्वजनिक रुपमा नै माफी मागेका हुन् ।

नेपाली स्वभिमान संस्कृतिलाई सधैं सम्मान गर्ने गरेको बताउँदैंमा हार्दिकको भनाईले नेपालीहरुको आत्मामा चोट पुगेकोमा उक्त भनाई पार्टीको नभएर हार्दिकको व्यक्तिगत भनेर बुझ्न उनले आग्रह समेत गरे । रायले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिष्पर्धी बनेकोमा आफुलाई कुनै पश्चताप नरहेकोे स्पष्ट पारे । ललिताघाटस्थित नेपाली मन्दिर परिसरमा आएका रायले जनताले आफुलाई जिताउने दाबी समेत गरे । रायले निर्वाचनकाक्रममा नेपालीको स्वाभिमानलाई ठेस पुग्ने गरी कसैले पनि उच्चारण गर्नु दु:खद भएको बताए । हार्दिक पटेलले गतसाता उत्तर प्रदेशको कंग्रेस पार्टीको आमसभामा भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई हामी देशका चौकिदार हौं, भन्ने दाबी प्रति व्यंग गर्ने क्रममा चौकिदार चाहिए नेपालबाट नेपाली झिकाउने अभिव्यक्ति दिएका थिए ।

उनको उक्त भनाई प्रति नेपालीहरुले सामाजिक संजालमा आपत्ती प्रकट गरेर व्यापक विरोध जनाइएको थियो । राय समक्ष तपाईको पार्टीले नेपालीहरुलाई चौकिदार भनेर स्वाभिमान नै चोट पुर्‍याएको जस्तो लाग्दैन्? भन्ने जिज्ञासामा उनले त्यो पार्टीको भनाई नरहेको स्पष्टीकरण दिएका थिए । उनले भने ‘उनको उक्त भनाई प्रति पार्टीको उम्मेदवार भएकोले पार्टीका तर्फबाट यही पशुपतिनाथ मन्दिर परिसरबाट नेपालीजनसँग क्षमा माग्दछु।’

त्यस क्रममा उनले पार्टीले प्रियंका गान्धीलाई उम्मेदवार बनाउने चर्चा हल्ला मात्र भएको बताए । पार्टीले आफुलाई योग्य मानेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिष्पर्धी बनाएकोमा खुशी व्यक्त गरे । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसको संरक्षण गर्न नसक्ने आरोप समेत लगाए । बनारसको संरक्षणका क्रममा मोदी सरकार आएपछि पटक–पटक जेल जानु परेको आफ्नो अनुभव उनले सुनाए । उनी फौजदारी मुद्धामा पटक–पटक जेल परेका व्यक्ति हुन् । नेपाली विद्यार्थी आत्मराम शास्त्रीले राय कांग्रेसका उम्मेदवार रहेपनि उनको विगत राम्रो नरहेको बताए ।

राय प्रधानमन्त्रीसँग प्रतिष्पर्धी गरिरहँदा प्रम मोदी गुजराती रहेको आरोप लगाउदै बनारसको विकासका लागि बनारस कैं स्थानिय व्यक्ति चाहिने उनले दाबी समेत गरे । राय सन् २०१४ मा पनि प्रधानमन्त्री मोदीसँग प्रतिष्पर्धा गरेका थिए । प्रम मोदी विजयी भइहँदा उनका प्रतिद्वन्दी दिल्लीका वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवाल रहेका थिए । कंग्रेसका राय तेस्रो भएका थिए । करिब ७५ हजार मत पाउदा समेत उनको जमानत जफ्त भएको थियो । विगतमा उनी कंग्रेसबाट प्रत्यासी बन्नु अघि भाजपाका तर्फबाट विधायक समेत रहँदै आएको शास्त्रीले बताए । शास्त्रीले भने ‘वाराणासी कै पिण्डरा क्षेत्रबाट दुई पटक विधायकमा निर्वाचित भएको विगत छ ।’

बनारसबाट निर्वाचन जित्नेहरुको भारतको इतिहासमा आफ्नै पहिचान र गरिमा रहेको पाइन्छ । केन्द्रको राजनीतिमा समेत यहाँ निर्वाचित उम्मेदवारको ऐतिहासिक योगदान रहेको स्थानीय बताउँछन् । भारत स्वतन्त्र भएपछि सन् १९५२ मा भएको निर्वाचनमा पहिलो पटक निर्वाचनमा रघुनाथ सिंहले कंग्रेसबाट जितेका थिए ।

सन् १९६२ सम्म कंग्रेसबाट रघुनाथ सिंह बनारसबाट निरन्तर विजयी भएको विगत छ । सन् १९६७ मा भारतीय कम्युनिष्ट माक्सवादी पार्टीका तर्फबाट सत्य नारायण सिंहले जिते । समाजवादी अभियन्ता तथा वरिष्ठ राजनीतिक विश्लेषक अफलातुन देसाइका अनुसार बनारसको इतिहासमा कम्युनिष्टको जित पहिलो र अन्तिम पटक बन्नपुग्यो । त्यस बखत भारतमा जय प्रकाशसँग कंग्रेसको टकरावका कारण कंग्रेसको दबदबा कालमा पनि देशका ११ राज्य कंग्रेस विहीन राज्य सरकार बन्न पुगेका थिए । त्यसको असर बनारसमा समेत परेको उनको भनाई छ ।

मजदुर नेता सिंहले अनपेक्षित रुपमा बनारसबाट निर्वाचन जित्न पुगेको उनले बताए । भारतमा कम्युनिष्ट पार्टीले पश्चिम बंगाल र केरलले जित्दै आएको भएपनि उल्लेखनिय काम गर्न सकेको पाइदैन् । त्यसैले पनि कम्युनिष्ट पार्टी प्रति भारतीय नागरिकमा सकारात्मक प्रभाव नरहेको उनले बताए । सन् १९७१ मा बनारसमा फेरी कांग्रेसले जितेको थियो । सन् १९७७ मा समाजवादी नेता चन्द्र शेखरले ईण्डियन नेशनल लोकदलबाट जिते । पछि उनी भारतका प्रधानमन्त्री समेत बनेका थिए ।

सन् १९८० मा फेरी कांग्रेसका तर्फबाट कमलापति त्रिपाठीले जिते । त्रिपाठी उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेको इतिहास छ । सन् १९८४ मा कांग्रेसले जितेको बनारसमा सन् १९८९ मा जनता दलका तर्फबाट लाल बहादुर शास्त्री पुत्र अनिल कुमार शास्त्रीले जिते । त्यसपछिका पाँच निर्वाचनमा निरन्तर भाजपाले जित्दै आएको छ । पहिलो पटक श्रीशचन्द दिक्षित, त्यसपछि क्रमश तीन पटक शंकर प्रसाद जयसवाल र सन् २००९ मा डा।मुरली मनोहर जोशीले बनारसबाट जितेको विगत छ ।
पहिलो पटक २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भए । २०१४ मा उनी गुजरातको मणीनगर र बनारसबाट प्रत्यासी बनेका थिए । दुबै स्थानबाट जिते पनि पछि बनारसलाई कायम राखेर उनले गुजरातबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung